हानिया आमिर र माहिरा खानले भारतको आक्रमणलाई भने कायर, पाकिस्तानी कलाकारहरू आक्रोशित

नयाँ दिल्ली । भारतले २२ अप्रिलमा पहलगाममा भएको आक्रमणको बदला लिँदै मे ७ मा अपरेशन सिन्दूर अन्तर्गत पाकिस्तानमा रहेका आतङ्ककारी अड्डाहरूमा हवाई आक्रमण गर्‍यो । यस कारबाहीमा धेरै आतंककारीहरू मारिएको भारतीय अधिकारीहरूले दाबी गरेका छन् ।

भारतको यस कडाभन्दा कडा कदमले पाकिस्तानी कलाकारहरूबीच हलचल निम्त्याएको छ । भारतीय फिल्म क्षेत्रमा काम गरिसकेकी चर्चित पाकिस्तानी अभिनेत्री माहिरा खानले यो कारबाहीलाई ‘कायरतापूर्ण’ कदम भन्दै आलोचना गरेकी छिन् । उनले लेखिका फातिमा भुट्टोको पोस्टलाई पुनः सेयर गर्दै भारतको कदमप्रति आक्रोश व्यक्त गरेकी छिन् । माहिराले इन्स्टाग्राम स्टोरीमा लेखेकी छिन्, ‘साँचिकै कायर…, अल्लाहले हाम्रो देशको रक्षा गरून् र हामीले राम्रोसँग बुझ्न सकौँ, आमेन ।’

त्यस्तै अर्की पाकिस्तानी अभिनेत्री हानिया आमिरले पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा एक शब्दमा प्रतिक्रिया दिँदै यसलाई ‘कायरता’ को संज्ञा दिएकी छिन् । यस्ता प्रतिक्रियाले भारतीय फ्यानहरूलाई निराश तुल्याएको छ । सामाजिक सञ्जालमा यी कलाकारहरूका पोस्टको चौतर्फी आलोचना भइरहेको छ ।

भारतको कारबाहीपछि पाकिस्तानका थुप्रै कलाकारहरूको सामाजिक सञ्जाल खाताहरूमा प्रतिबन्ध लगाइएको छ । यस सूचीमा माहिरा खान, फवाद खान, अली जफर, हानिया आमिर लगायत चर्चित नामहरू छन् । भारतले सिन्धु जल सन्धी खारेज गर्ने, पाकिस्तानका नागरिकहरूलाई देश छोड्न आदेश दिने लगायतका कडा कदमहरू पनि घोषणा गरेको छ ।