पाकिस्तानमा मिसाइल आक्रमणबारे औपचारिक रूपमा बोल्यो भारत, के भन्यो?

भारतले पाकिस्तानमाथिको मिसाइल आक्रमणलाई अप्रिल २२ मा जम्मु-कश्मिरको पहलगाममा भएको आतंकवादी हमलाको प्रतिकारको रूपमा व्याख्या गरेको छ। बुधबार बिहानै पाकिस्तानका विभिन्न ९ स्थानमा मिसाइल आक्रमण गरेपछि भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेर यो कदमबारे संक्षिप्त जानकारी दिएको हो।

विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले पहलगाममा भएको हमलामा पर्यटकहरूलाई लक्षित गरेर आतंककारीहरूले आक्रमण गरेको बताए। उनले भारतसँग पाकिस्तानको संलग्नताको ठोस प्रमाण रहेको दाबी गरे। मिश्रीका अनुसार रेसिस्टेन्ट फ्रन्ट (आरटिएफ) नामक समूहले उक्त हमलाको जिम्मेवारी लिएको छ, जुन लश्कर-ए-तैयबा सँग जोडिएको छ।

उनले पाकिस्तानले विश्वसनीय गुप्त सूचना र अन्तर्राष्ट्रिय चिन्ताका बाबजुद पनि आफ्ना भूमिबाट सञ्चालन भइरहेका आतंकवादी सञ्जालहरू विरुद्ध कुनै कारबाही नगरेको आरोप लगाए। मिश्रीले भने, पाकिस्तानले विश्वमै आतंकवादीहरूको सुरक्षित आश्रयस्थलको रूपमा आफ्नो पहिचान बनाइसकेको छ।

भारतीय सेनाका कर्नेल सोफया कुरेशीले यो मिसन ‘अपरेशन सिन्दुर’ नामक कार्यवाही अन्तर्गत भएको बताउँदै पाकिस्तानभित्र रहेका आतंकवादी अड्डाहरू, भर्ती केन्द्र, लन्च प्याड र तालिम शिविरहरूलाई निशाना बनाइएको जानकारी दिइन्।

पाकिस्तानले भने भारतीय आक्रमणको प्रतिकार गर्ने चेतावनी दिँदै भारतका पाँच लडाकु विमान खसालेको दाबी गरेको छ। रोयटर्सका अनुसार पाकिस्तानले तीन राफेल र दुई रूसी विमान खसालेको भनाइ सार्वजनिक गरेको छ। भारतले यो दाबीबारे अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन, तर पुष्टि भएमा यो भारतीय वायुसेनाको लागि दशकौँ यताकै सबैभन्दा ठूलो क्षति हुनेछ।

भारतले प्रयोग गरेका राफेल विमानहरू उसको आधुनिकीकरण योजनाअन्तर्गत किनेका थिए, जसको संख्या हाल ३६ रहेको छ।

भारतले आतंकवादीहरूको आधार इलाका भनेर आक्रमण गरेपछि पाकिस्तानले पनि कश्मिर क्षेत्रमा बमबारी गरेको, जसमा १० जना भारतीयको मृत्यु भएको बताइएको छ।

भारतका विदेशमन्त्री एस जयशंकर र गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमार्फत आतंकवादविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाइने बताएका छन्। शाहले सेनाको साहसप्रति गर्व व्यक्त गरेका छन्।

आक्रमणपछि भारत र पाकिस्तानका सीमावर्ती क्षेत्रमा तनाव बढेको छ। विद्यालयहरू बन्द गरिएको छ भने अन्तर्राष्ट्रिय उडानहरूमा पनि असर परेको छ। एयर इन्डिया, इन्डिगो, स्पाइसजेट लगायतका विमान सेवाले उडानहरू रद्द गरेका छन्। सिंगापुर एयरलाइन्स, ब्रिटिश एयरवेज, फिनएयरजस्ता विमान सेवाले रुट परिवर्तन गरेका छन्।

संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई संयमता अपनाउन आग्रह गरेको छ। चीनले घटनालाई खेदजनक भनेको छ र दुवै पक्षलाई संयमित हुन भनेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमण रोकिने आशा व्यक्त गरेका छन् भने विदेशमन्त्री मार्को रूबिओले घटनाको नजिकबाट निगरानी गरिरहेको बताएका छन्।