—भारत र पाकिस्तानबीचको तनाव चुलिंदै गएको छ। बुधबार बिहान भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेपछि सीमावर्ती कश्मीर क्षेत्रमा स्थिति झनै भयावह बनेको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, पाकिस्तानी सेनाको जवाफी कारबाहीमा परी तीन भारतीय नागरिकको मृत्यु भएको छ।
भारतले गरेको आकाशबाटको हमलापछि सीमामा तैनाथ पाकिस्तानी सेनाले गोलीबारी गरेपछि ती तीन जना भारतीय नागरिकको ज्यान गएको बताइएको छ। मारिनेको विवरण भने सार्वजनिक गरिएको छैन।
यसअघि भारतले कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलाको प्रतिशोधस्वरूप पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको जनाएको थियो। सो हमलामा एक नेपालीसहित २६ जना मारिएका थिए। भारतको रक्षा मन्त्रालयका अनुसार, आतंकवादीहरूले प्रयोग गरिरहेका ९ स्थानमा मात्रै मिसाइल प्रहार गरिएको हो।
पाकिस्तानी सेनाले भने भारतको आक्रमणमा आफ्ना ८ जना नागरिक मारिएको र दर्जनौं घाइते भएको जानकारी दिएको छ। त्यसको जवाफस्वरूप आफूहरूले भारतीय फाइटर जेटहरू खसालेको दाबीसमेत सार्वजनिक गरेको छ। रोयटर्सका अनुसार, पाकिस्तानले तीनवटा राफेल र दुइटा अन्य रूसी लडाकु विमान खसालेको दाबी गरेको छ। भारतीय सेनाले भने हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन।
यदि पाकिस्तानी सेनाको यो दाबी पुष्टि हुन्छ भने, यो भारतीय सेनाका लागि दशकौँपछिको सबैभन्दा ठूलो हवाई क्षति हुनेछ। राफेल विमान भारतले आफ्नो वायुसेनालाई आधुनिक बनाउने योजनाअन्तर्गत फ्रान्सबाट खरिद गरेको थियो।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीच जारी आक्रमणबारे प्रतिक्रिया दिँदै चाँडै युद्धविरामको आशा व्यक्त गरेका छन्। उनले पत्रकार सम्मेलनमा भने, “मैले आक्रमणबारे भर्खरै सुनेँ। मेरो आशा छ, यो द्वन्द्व चाँडै टुंगिनेछ।” अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पनि दुबै देशबीचको परिस्थितिलाई अमेरिका गम्भीर रूपमा हेरिरहेको बताएका छन्।
Leave a Reply