काठमाडौं — भारत र पाकिस्तानबीच चुलिंदो तनावका बीच नेपालमा त्यसको प्रभावबारे विश्लेषण गर्न केन्द्रीय सुरक्षा समिति सिंहदरबारमा बैठकमा जुटेको छ। गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा दिउँसो २ बजेबाट सुरु भएको बैठकमा नेपालका शीर्ष सुरक्षा अधिकारीहरू सहभागी छन्।
गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल सेनाका रथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, र गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामचन्द्र तिवारी बैठकमा उपस्थित छन्।
बैठकमा सहभागी एक उच्च सुरक्षा अधिकारीका अनुसार भारत–पाकिस्तानबीचको तनावको प्रभाव नेपालमा पर्न सक्ने अवस्था, विशेषगरी खुला सीमा क्षेत्रका चुनौतीबारे विश्लेषण भइरहेको छ। “सीमामा थप सुरक्षा व्यवस्थाको तयारी गर्न गृह मन्त्रालयबाट सर्कुलर जारी भइसकेको छ,” ती अधिकारीले बताए, “अब आगामी रणनीति के हुने भन्ने निर्णय बैठकले गर्नेछ।”
सशस्त्र प्रहरी बलका नायब उपरीक्षक तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले पनि सीमा क्षेत्रमा कडाइ गरिएको जानकारी दिए। उनका अनुसार, अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बलले भारतीय समकक्षी एसएसबीसँग समन्वय गर्दै संयुक्त गस्ती, सूचनाको आदानप्रदान, र २४ घण्टा निरन्तर गस्तीलाई तीव्रता दिएको छ।
थापाले बताएअनुसार, “एक बीओपी (बॉर्डर आउटपोस्ट) बाट अर्को बीओपीसम्म लगातार गस्ती चलाइएको छ र सुरक्षा सतर्कता उच्च राखिएको छ।”
भारत–पाकिस्तानबीचको तनाव लम्बिएमा नेपाललाई प्रत्यक्ष असर नपर्ला पनि अप्रत्यक्ष प्रभावका लागि नेपाल सतर्क बन्दैछ। नेपाल सरकारले सीमा सुरक्षामा देखाएको चासो र तयारीले क्षेत्रीय तनावका बेला राष्ट्रिय सुरक्षामा दृढता देखाएको छ।
Leave a Reply