अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा

काठमाडौं — नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक घोषणा बुधबार काठमाडौंमा गरिएको छ। एक विशेष समारोहका बीच नाइमाले आफूलाई अटोमोबिलिटीको थिङ्क ट्याङ्कका रूपमा प्रस्तुत गर्दै आगामी रणनीति सार्वजनिक गरेको हो।

नाइमा अटोमोबाइल्स व्यवसायीहरूको पुरानो छाता संगठन नाडाबाट टुक्रिएर बनेको नयाँ संस्था हो। कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले नाइमाले वातावरणमैत्री अभ्यास, उपभोक्ता शिक्षाको प्रवर्द्धन, सडक सुरक्षा र पूर्वाधार सुधारजस्ता महत्वपूर्ण पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, उनले मोबिलिटी सशक्तिकरणलाई दिगो विकासको आधार बनाउँदै सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताइन्।

अध्यक्ष वैद्यले गाडी आयातकर्ता तथा उत्पादकहरूको आवाज उठाउने उद्देश्यले संस्था दर्ता गरिएको जानकारी दिइन्।

कार्यक्रममा सञ्चालक समिति सदस्य सुहृद घिमिरेले नाइमा कसैसँग द्वन्द्वमा जाने संस्था नभई सबैसँग सहकार्य गर्ने सोचका साथ अघि बढ्ने स्पष्ट पारे। उनले अटोमोबाइल क्षेत्रलाई लक्जरी प्रोडक्टको रूपमा परिभाषित गर्दै सरकारी निकायहरूले बनाएको अप्ठ्यारो परिस्थितिको विरोध गर्दै, नाइमाले नीतिगत लबिङमा सक्रिय भूमिका खेल्ने बताए।

नाइमा सञ्चालक समितिमा सुहृदराज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दिप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदायन काब्रा रहेका छन्।

नाइमाले आगामी अगस्ट ६ देखि १० गतेसम्म अटो मोबिलिटी एक्स्पो पनि आयोजना गर्ने घोषणा गरेको छ।