प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक गाउँपालिकाका दुई सयभन्दा बढी स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्। चालु आर्थिक वर्षमा रु ५३ लाख ७४ हजार बजेट विनियोजन गर्दै सञ्चालन गरिएको १४ वटा योजनामार्फत रोजगारी सिर्जना गरिएको हो।
गाउँपालिकाका सातै वडामा योजना विस्तार गरिएको छ, जसमा पदमार्ग निर्माण, मर्मत–सम्भार, गोरेटो बाटो सुधार, र सार्वजनिक शौचालय निर्माणजस्ता पूर्वाधारसम्बन्धी कार्य समावेश छन्। स्थानीय उपभोक्ता समिति गठन गरी कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जानकारी दिए।
उनका अनुसार रोजगारी पाएका प्रत्येक स्थानीयलाई कम्तीमा १०० दिनको कामको अवसर सुनिश्चित गरिएको छ। सहभागीहरूलाई कामसँग सम्बन्धित तालिमसहित सुरक्षासामग्री पनि प्रदान गरिएको छ।
वडा नं ७ बिममा नरालेदेखि बिम्बाङसम्म र वडा नं ३ मा सिउदीभिरदेखि औँलसम्मको पदमार्ग निर्माण कार्य पूरा भइसकेको रोजगार सहायक मिलन सुवेदीले जानकारी दिए। यस्तै, डाँडाँगाउँको सिउदीभीर–औँल पदमार्ग पनि रु ५ लाख ६७ हजारको लागतमा निर्माण गरिएको हो।
बिम नरालेदेखि बिम्बाङसम्म १४२ मिटर नयाँ पदमार्ग बनाइएको छ भने ३५० मिटर पुरानो बाटो मर्मत गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालका अनुसार १४ मध्ये तीन योजना सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरू निर्माणको अन्तिम चरणमा छन्।
यस कार्यक्रमले गाउँमा पूर्वाधार विकाससँगै स्थानीय युवालाई स्वरोजगारका अवसर पनि सिर्जना गरेको छ, जसले ग्रामीण अर्थतन्त्रलाई सकारात्मक रूपले प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Leave a Reply