‘अपरेसन सिन्दुर’ पछि भारत–पाकिस्तानबीच युद्धको खतरा, तनाव उच्चतम बिन्दुमा

भारत–पाकिस्तान सम्बन्धमा फेरि चिसोपन चुलिएको छ। जम्मू–कस्मिरको पहलगाममा भएको आतंकी आक्रमणको जबाफस्वरूप भारतले बुधबार बिहान पाकिस्तानमा हवाई हमला गर्दै ‘अपरेसन सिन्दुर’ नामक सैन्य कारबाही सार्वजनिक गरेको छ। यस आक्रमणपछि दुवै मुलुकबीच पूर्ण युद्धको खतरा गहिरिंदै गएको छ।

भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रेस ब्रिफिङमा पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा निशाना साधिएको दाबी गरे। भारतीय सेनाले पन्जाब प्रान्तको बहावलपुर, मुरिद्के, शियालकोट र पाकिस्तान–नियन्त्रित कश्मिरका पाँच स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ। आतंकवादी समूह जैश-ए-मोहम्मद र लश्कर-ए-तइबाको मुख्य शिविरहरूमा प्रहार गरिएको दाबी गरिएको छ।

यो ‘अपरेसन सिन्दुर’ नाम दिने निर्णय भावनात्मक रूपमा पनि विशेष मानिएको छ। पहलगाम हमलामा ज्यान गुमाएका भारतीय नौसेना अधिकृतकी नवविवाहित श्रीमतीको गुमेको ‘सिन्दुर’को सम्मानमा यस्तो नाम राखिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

सैन्य कारबाहीबारे जानकारी दिन भारतीय सेनाले दुई महिला अधिकृतलाई अगाडि ल्याउनुले भारतले धार्मिक सहिष्णुता र महिला सहभागिताको सन्देश दिन खोजेको विश्लेषण गरिएको छ।

पाकिस्तानले भारतको दाबीको खण्डन गर्दै हवाई आक्रमणमा सर्वसाधारणमाथि हमला भएको र २६ जनाको मृत्यु भएको बताएको छ। साथै पाँच भारतीय लडाकू विमान खसालेको दाबी पनि पाकिस्तानबाट आएको छ, जसको पुष्टि भने स्वतन्त्र रूपमा हुन बाँकी छ।

यसबीच दुवै देशका सीमामा गोलीबारी, सैन्य अभ्यास, मिसाइल परीक्षण र कूटनीतिक आरोप–प्रत्यारोप जारी छन्। पाकिस्तानले आपतकालीन अवस्था घोषणा गर्दै जवाफी कारबाहीको संकेत दिएको छ।

यस तनावपूर्ण परिस्थितिमा अमेरिका, चीन, रूस, फ्रान्स लगायत राष्ट्रहरूले संयमता अपनाउन आग्रह गरेका छन्। भारतले आफ्नो हमलालाई सीमित, अचूक र आतंकवाद लक्षित भनेर बताउँदै युद्ध रोक्ने संकेत दिएको छ। पाकिस्तानले पनि अझै पूर्ण युद्धको तयारी नदेखाए पनि, आफ्ना सेनापतिका आक्रामक अभिव्यक्तिले अवस्था जटिल बनाएको छ।

विश्लेषकहरूका अनुसार, भारत–पाकिस्तानबीचको तनावले अझ जटिल मोड लिन सक्ने सम्भावना कायमै छ, यद्यपि तत्काल पूर्ण युद्धको सम्भावना तुलनात्मक रूपमा कम देखिएको छ।