भारतद्वारा बुधबार राति पाकिस्तानमाथि गरिएको हवाई मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या ३१ पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, पाकिस्तानी सेनाले ४६ जना घाइते भएको पुष्टि गरेको छ। आक्रमण ‘अपरेसन सिन्दुर’ अन्तर्गत गरिएको हो, जसमा पाकिस्तानका ९ स्थानहरू निशानामा परेका थिए।
भारतीय पक्षले यो कारबाही जम्मू–कश्मीरको पहलगाममा अप्रिल २२ मा भएको आतंकी हमलाको जवाफमा गरिएको जनाएको छ। उक्त हमलामा २६ जना नागरिकको ज्यान गएको थियो, जसमा नेपाली नागरिक सुदीप न्यौपाने पनि थिए।
भारतले निशाना बनाएका स्थानहरूमा जैश-ए-मोहम्मद र लश्कर-ए-तइबाका प्रमुख अड्डाहरू रहेको बताइएको छ। भारतीय सेनाले “केवल आतंकी संरचनालाई लक्षित गरिएको हो, सेनालाई होइन” भन्ने प्रष्ट पारेको छ।
आक्रमणपछि पाकिस्तानले पनि जवाफी बमबारी गर्दै जम्मू-कश्मीरको लाइन अफ कन्ट्रोल क्षेत्रमा गोलाबारी गरेको दाबी गरिएको छ। यस बमबारीमा १० जना भारतीय नागरिकको मृत्यु भएको पाकिस्तानले दाबी गरे पनि भारतीय पक्षले यसको पुष्टि गरेको छैन।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै कडा चेतावनी दिएका छन्। उनले भने, “भारतले ठूलो गल्ती गर्यो, त्यसको मूल्य उसले चुकाउनेछ। यो वीर मानिसहरूको देश हो, हामी झुक्नेवाला छैनौं।”
दुवै देशले युद्ध चाहँदैनन् भनेर जनाए पनि हालको तनावपूर्ण अवस्थाले युद्धको खतरा अझ बढाएको विश्लेषण गरिएको छ।
यसैबीच, अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिक्रिया आउन थालेको छ। फ्रान्सले भारतको पक्ष लिँदै “आतंकवादविरुद्धको लडाइँमा भारतको समर्थनमा छौं” भन्ने औपचारिक विज्ञप्ति जारी गरेको छ। अमेरिका, चीन, रूसजस्ता विश्वशक्ति राष्ट्रहरूले भारत र पाकिस्तानलाई संयमता अपनाउन आह्वान गरेका छन्।
Leave a Reply