दमौली, वैशाख २६ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पक्राउ पर्नेमा गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–८ निवासी २५ वर्षीय विमल श्रेष्ठ र २० वर्षीय भुवन श्रेष्ठ छन्।
उनीहरूलाई ना ४० प २६४१ नम्बरको मोटरसाइकलमा मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गर्दा अस्थायी प्रहरी पोष्ट मुग्लिङबाट खटिएको टोलीले पक्राउ गरेको हो। मोटरसाइकल चेकजाँचका क्रममा स्रोत नखुलेको नगद १४ लाख रुपैयाँ फेला परेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Leave a Reply