चन्दा सङ्कलनमार्फत विद्यालयलाई बस हस्तान्तरण, शिक्षा प्रवर्द्धनतर्फ ऐतिहासिक पाइला

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जामिया इस्लामिया मदरसा ले अब आफ्नै बसमा विद्यार्थी ओसारपसार गर्न पाउने भएको छ । स्थानीयवासीहरूको चन्दा सङ्कलनबाट खरिद गरिएको बस बुधबार एक औपचारिक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीले बस स्थानीयवासीहरूको सहयोगमा किनेको जानकारी दिँदै यसलाई विद्यालय प्रशासनलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको बताए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले विद्यालयका प्रधानाध्यापक समिम अख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरे ।

अध्यक्ष आजादले भने, “हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता लिएका छौँ । सरकारी र निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर सुधारमा यस्ता कदमलाई उच्च प्राथमिकता दिइएको छ ।”

बस प्राप्त भएपछि विद्यालयमा सवारीसाधनको अभावका कारण टाढाबाट आउनुपर्ने बालबालिकालाई राहत मिल्ने भएको छ । प्रधानाध्यापक फलाहीले विद्यालयको तर्फबाट सबै दाताहरूलाई धन्यवाद दिँदै बसले बालबालिकाको शिक्षामा सहजता ल्याउने विश्वास व्यक्त गरे ।