अनलाइनबाट साढे दुई करोडको ठगी! फेक एकाउन्टमार्फत ‘सस्तो सामान’ देखाएर ७ जना पक्राउ

धनुषा — सामाजिक सञ्जालमा सस्तो मोबाइल र लत्ता–कपडाको प्रलोभन देखाउँदै अनलाइनमार्फत साढे दुई करोड रुपैयाँभन्दा बढी ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। धनुषा प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत सात जना युवाहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकाहरूमा धनुषा र महोत्तरीका पाँच जना तथा सर्लाहीका दुई जना रहेका छन्। उनीहरू हुन् — सुरज साह (२३), श्यामसुन्दर महरा (२२), रामकुमार महरा (२०), रोशन साह (२२), सुधीरकुमार महतो (२१), अमित साह (१९) र नितेशकुमार (२२)। धनुषा प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, उनीहरूलाई बिहीबार सार्वजनिक गरिएको हो।

प्रहरीको अनुसन्धान अनुसार, यो गिरोहले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र टिकटकजस्ता सामाजिक सञ्जालमा फेक पेजहरू बनाएर ‘ब्रान्डेड मोबाइल’, ‘सस्तो कपडा’, ‘विशेष अफर’ लगायतका झुठा पोस्टमार्फत सर्वसाधारणलाई फसाउने गरेको पाइएको छ।

“पहिले उनीहरूले उपभोक्तालाई ‘डिस्काउन्ट अफर’ देखाउँछन्। जब सामान खरिदको लागि ग्राहकले सम्पर्क गर्छ, उनीहरू अग्रिम रकम माग्छन्। पैसा पाउनेबित्तिकै ब्लक गरी सम्पर्क विच्छेद गर्छन्,” डीएसपी सिंहले बताए।

प्रहरीले उनीहरूको नियन्त्रणबाट विभिन्न बैंक तथा मोबाइल वालेटमा प्रयोग गरिएका १८७ वटा खाताको विवरण फेला पारेको छ। ती खाताहरूबाट हालसम्म २ करोड ६३ लाख ९३ हजार १९२ रुपैयाँको लेनदेन भएको तथ्य खुलेको छ।

स्रोतका अनुसार, पक्राउ परेका अधिकांश युवाहरू ‘कुलत’ मा फसेका थिए र छिटो पैसा कमाउने लोभमा अनलाइन अपराधमा लागेका थिए।

प्रहरीले अहिले पनि उनीहरूका थप संलग्न साथीसंगी र प्रयोग भएका उपकरणबारे अनुसन्धान तीव्र पारेको छ। साथै, सर्वसाधारणलाई सामाजिक सञ्जालबाट सस्तो सामानको लोभमा नपर्न र अग्रिम भुक्तानी नगर्न सचेत गराएको छ।