नेपाल–भारत सीमामा ‘हाई अलर्ट’, सशस्त्र प्रहरीको कडा निगरानी

काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीचको पछिल्लो तनावले नेपाल–भारत सीमामा समेत सुरक्षा सतर्कता बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल (APF) ले सीमाक्षेत्रमा ‘हाई अलर्ट’ जारी गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, पछिल्लो ४८ घण्टामा मात्रै ३१२ वटा गस्ती (पट्रोलिङ) सञ्चालन गरिएको छ। मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म भारतीय सशस्त्र सीमा बल (SSB) सँगको संयुक्त गस्ती पनि गरिएको छ। यस्तो गस्तीले सीमामा हुने अवैध गतिविधिहरू रोक्न सघाउने विश्वास व्यक्त गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार हाल नेपाल–भारत सीमामा १,८४४ वटा चेकप्वाइन्ट सञ्चालनमा छन्। करिब १० हजार सशस्त्र प्रहरी परिचालित भइसकेका छन्।

सीमामा अवैध तस्करी, मानव ओसारपसार तथा शंकास्पद आवतजावत रोक्नका लागि प्रहरीसँगै राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधिहरूसँग पनि निरन्तर समन्वय भइरहेको जनाइएको छ।