काठमाडौं, २५ वैशाख — काठमाडौंको बसुन्धरास्थित बीपी स्मृति अस्पताललाई फोहोर व्यवस्थापनमा लापरबाही गरेको भन्दै महानगरपालिकाले फोहोर संकलन स्थगित गरेको छ। साथै, ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।
स्थानीयबासीको गुनासोपछि महानगरको कल सेन्टरमा उजुरी दर्ता भएको थियो। उजुरी अनुसार अस्पतालले कम्पाउन्डमै दिनौं फोहोर राखेर दुर्गन्ध फैलाएको गुनासो प्राप्त भएपछि वातावरण व्यवस्थापन विभागको टोलीले निरीक्षण गरेको थियो। टोलीमा वरिष्ठ अधिकृत सानुमैयाँ महर्जन, वातावरण निरीक्षक सृष्टि श्रेष्ठ, स्वास्थ्य विभागका प्रतिनिधि र महानगर प्रहरी सामेल थिए।
हाल फोहोर संकलनको काम टोखाबाट सञ्चालनमा रहेको हिमालयन प्रा.लि. ले गर्दै आएको छ, तर अब महानगरले अनुमति नदिएसम्म संकलन गर्न रोक लगाइएको छ।
महानगरपालिकाको ऐन अनुसार, स्वास्थ्य संस्थाबाट निस्कने रासायनिक, जोखिमपूर्ण वा हानिकारक फोहोर जथाभावी फाल्ने कार्यमा संलग्नलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
यस्तो कारबाही यसअघि पनि यो अस्पतालमाथि गरिसकिएको महानगर स्रोतले जनाएको छ, तर सुधार नभएको भन्दै यसपटक प्रत्यक्ष संकलन रोक्का र आर्थिक जरिवाना गरिएको हो।
Leave a Reply