गंगोत्री धाम जाँदै गरेको हेलीकप्टर दुर्घटना, ६ जनाको मृत्यु

उत्तराखण्ड, भारत – गंगोत्री धामतर्फ यात्रामा रहेको एक हेलीकप्टर आज उत्तरकाशीको गंगनानी जंगल क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। उक्त हेलीकप्टरमा ७ जना सवार थिए। प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ भने १ जना यात्रु गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइएको छ।

घटनास्थल गंगनानी नामक दुर्गम क्षेत्रमा पर्न आउने भएकाले उद्धारमा कठिनाइ भएको थियो। यद्यपि स्थानीय प्रशासन र उद्धार टोलीको प्रयासमा घाइतेलाई समयमै अस्पताल पुर्याउन सफल भएको बताइएको छ। मृतकहरूको पहिचान भने हालसम्म खुलाइएको छैन।

दुर्घटनाको कारणबारे प्रारम्भिक अनुसन्धान सुरु भइसकेको छ भने मौसमको खराबी वा प्राविधिक गडबडीको आशंका गरिएको छ। उत्तराखण्ड राज्य सरकार र नागरिक उड्डयन मन्त्रालयले घटनाको गम्भीर समीक्षा गर्ने बताइएको छ।

(यस समाचारको थप जानकारी प्राप्त भइरहेपछि अद्यावधिक गरिनेछ।)