अमेरिकी राजदूतलाई पाकिस्तानको कडा सन्देश – “भारतले अन्तर्राष्ट्रिय कानुन तोड्यो, हामी चुप बस्दैनौं”

इस्लामाबाद — भारत र पाकिस्तानबीच चुलिँदो तनावको बीचमा पाकिस्तानले अमेरिका समक्ष कडा आपत्ति जनाएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले इस्लामाबादस्थित कार्यवाहक अमेरिकी राजदूत नाटाली बेकरलाई भेट गरी भारतको पछिल्लो सैन्य कारबाहीलाई “ड्रोन आतंकवाद” भनी आरोप लगाएका छन्।

गृहमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि भारतले सर्वसाधारणलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेर सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ। नकवीले अमेरिकी राजदूतलाई जानकारी दिँदै भने, “पूरै क्षेत्र युद्धको संघारमा छ। पाकिस्तान शान्ति चाहन्छ, तर आफ्नो राष्ट्रिय सुरक्षामा कहिल्यै सम्झौता गर्दैन।”

पाकिस्तानले भारतको ‘अपरेसन सिन्दुर’ पछि उत्पन्न सुरक्षा संकट र सैन्य गतिविधिबारे अन्तर्राष्ट्रिय समर्थन जुटाउन कूटनीतिक पहल सुरु गरिसकेको छ। नकवीले भारतको कदमलाई उक्साहटपूर्ण मात्र नभई नागरिक जीवनमाथि सीधा हमला भएको भन्दै अन्तर्राष्ट्रिय समुदायले गम्भीर रूपमा लिनुपर्ने बताए।

यसअघि पनि पाकिस्तानले चीन, साउदी अरेबिया, रुस र संयुक्त राष्ट्रसंघलाई आन्तरिक कूटनीतिक ब्रिफिङ गरिसकेको छ। भारतले भने आफ्नो पक्षमा हवाई कारबाहीलाई “आतंकवादको जबाफमा गरिएको सीमित र सटीक प्रहार” बताउँदै आएको छ।

अब अन्तर्राष्ट्रिय समुदायको भूमिकामाथि चासो बढेको छ – के संयुक्त राष्ट्रसंघ र विश्व शक्तिहरू यो संकट समाधानमा सक्रिय भूमिका खेल्नेछन् कि दक्षिण एशिया फेरि एक विनाशकारी युद्धको दलदलमा धसिनेछ?