काठमाडौँ । पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा व्यापक आलोचनाको सामना गरिरहेकी अभिनेत्री सुरक्षा पन्त फेरि एकपटक चर्चामा आएकी छन्। पूर्वराजपरिवारसम्बन्धी अभिव्यक्तिका कारण आलोचना खेपेकी सुरक्षाले अब फेसबुकमार्फत एक अनौठो तस्बिर सार्वजनिक गरेकी छन्, जसलाई लिएर दर्शक तथा समर्थकमाझ नयाँ बहस सुरु भएको छ।
उनले सार्वजनिक गरेको तस्बिरमा सुरक्षा पन्त कमलको फूलको बिचमा बसेकी छन्। टाउकोमा कालो चस्मा अड्याएकी, हातमा ट्याटु र रंगीचंगी चुरा लगाएकी उनी एक शक्तिशाली देवीको स्वरूपमा प्रस्तुत भएकी छन्। कतिपय दर्शकले उनलाई दुर्गा भवानी वा सरस्वतीको अवतारको रूपमा समेत व्याख्या गरेका छन्। तस्बिर हेर्दा धार्मिक तथा सांस्कृतिक भावनालाई झल्काउने भएपनि, उनले पृष्ठभूमिमा राखेको ‘दर्याम दर्याम’ बोलको गीतलाई धेरैले आलोचना गरेका छन्। गीतको मिजाज र तस्बिरबीच मेल नभएको भन्ने टिप्पणीहरू आएका छन्।
सामाजिक सञ्जालमा आएको प्रतिक्रियाबाट झल्कन्छ—सुरक्षाले यो तस्बिरमार्फत आफूलाई आलोचनाबाट अछुतो रहने, शक्ति र मौन प्रतिरोधको सन्देश दिन खोजेकी हुन सक्छिन्। केहीले भने यस्ता संवेगात्मक पोस्टहरूले विवाद थप चर्काउने मात्र हो कि भनेर प्रश्न उठाएका छन्।
यसअघि उनी अभिनीत फिल्म ‘खेल’ समेत विवादको घेरामा परेको थियो र बहिष्कारको माग उठाइएको थियो। त्यसपछि उनले एक कविता सार्वजनिक गर्दै मौनता अपनाएकी थिइन्। तर अहिले उनको सामाजिक सञ्जालमा सक्रियता फेरि बढ्दै गएको देखिएको छ।
Leave a Reply