अछाममा चितुवाको आक्रमण: गोठभित्र पसेर किसानका खसीबाख्रा मारे

अछाम — अछामको रामारोशन गाउँपालिका–५ दलेनामा जङ्गली चितुवाले गोठभित्रै पसेर किसानका खसीबाख्रा मारेको घटना सार्वजनिक भएको छ।

स्थानीय किसान उदयबहादुर रोकायाको गोठमा चितुवा छानाबाट पसेर दुई वटा बाख्रा, एक बोका र एक च्याङ्ग्रो मारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

घटना सोमबार बिहान करिब २ बजे घटेको बताइएको छ। रोकायाको ढुंगा-माटोले बनेको गोठमा खरको छानो थियो। चितुवा सो छाना चिरेर गोठभित्र पसेको र त्यहीँबाट आक्रमण गरेको डिएसपी भण्डारीले बताए। गोठ घरबाट करिब १० मिटर पर रहेको थियो।

खबर प्राप्त भएपछि प्रहरी पोष्ट चौताराबाट प्रहरी सहायक निरीक्षक चन्द्रसिंह पालीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

यस घटनाले स्थानीय किसानमा चितुवाको आतङ्क बढेको छ भने पशु सम्पत्तिमा घाटा पुगेको भन्दै पीडित परिवारले तत्काल राहतको माग गरेका छन्।