अक्षय कुमार र प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ

बलिउडका चर्चित अभिनेता अक्षय कुमार र अभिनेत्री प्रीति जिन्टा २६ वर्षपछि फेरि एकसाथ काम गर्न लागेका छन्। सन् १९९९ मा रिलिज भएको फिल्म ‘संघर्ष’ मा उनीहरूले सँगै अभिनय गरेका थिए। तनुजा चन्द्रा निर्देशित उक्त फिल्मले त्यतिबेला राम्रै चर्चा पाएको थियो।

लामो समयदेखि संघर्षको सिक्वेल बन्ने चर्चा चलिरहेको थियो। हालै अभिनेत्री प्रीति जिन्टाले सामाजिक सञ्जालमा ‘Ask Me Anything’ कार्यक्रम राखेकी थिइन्। कार्यक्रममा एक फ्यानले उनलाई सोधे, तपाईँ कुन फिल्मको सिक्वेल हेर्न चाहनुहुन्छ? उनले जवाफ दिइन्, ‘शायद संघर्ष।’

उनको यो जवाफलाई धेरै फ्यानहरूले समर्थन जनाएका छन्। सामाजिक सञ्जालमा कमेन्ट गर्दै धेरैले संघर्ष २ बन्नु आवश्यक रहेको प्रतिक्रिया दिएका छन्।

प्रिती जिन्टा पछिल्लो पटक सन् २०१८ मा रिलिज भएको ‘भैयाजी सुपरहिट’ नामक फिल्ममा देखिएकी थिइन्। अर्कातर्फ अक्षय कुमार भने निरन्तर फिल्मी क्षेत्रमा सक्रिय छन्। अब यी दुई कलाकारको पुनर्मिलनले नयाँ फिल्ममा कस्तो जादु देखाउने हो भन्ने प्रतीक्षामा फ्यानहरू छन्।