बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टले यस वर्षको कान्स फिल्म फेस्टिभलमा पहिलो पटक डेब्यू गर्न लागेकी छन्। आगामी मे १३ देखि २४ सम्म फ्रान्सको कान्स सहरमा हुने ७७औं संस्करणको यो प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा आलिया लोरियल पेरिसको आधिकारिक प्रतिनिधिका रूपमा रेड कार्पेटमा प्रस्तुत हुनेछिन्।
लामो समयदेखि लोरियल पेरिसको ब्रान्ड एम्बेसडर रहेकी आलियाले यस महोत्सवमा ऐश्वर्या राय बच्चनसँगै भारतीय सौन्दर्य र सिर्जनशीलतालाई विश्वसामु प्रस्तुत गर्नेछिन्।
“पहिलो पटक सधैं विशेष हुन्छ, र यस वर्ष कान्समा भाग लिन पाउँदा म निकै उत्साहित छु,” आलियाले भनिन्, “लाइट्स, ब्युटी एण्ड एक्सन भन्ने थिमका साथ म लोरियलको प्रतिनिधित्व गर्न पाउँदा यो मेरो लागि गर्वको विषय हो।”
उनका अनुसार, सौन्दर्य भनेको आत्मविश्वास र व्यक्तिगत पहिचान हो, र लोरियलले विश्वभरका महिलाहरूलाई आफ्नै प्रकाशमा चम्कन प्रेरित गर्दै आएको छ।
कान्समा आलियासँगै लोरियल ब्रान्डको तर्फबाट इभा लोङ्गोरिया, भियोला डेभिस, जेन फोंडा, अजा नाओमी किङ, एन्डी म्याकडोवेल, सिमोन एश्ले, एले फ्यानिङ लगायत अन्य अन्तर्राष्ट्रिय प्रतिनिधिहरू पनि रेड कार्पेटमा सहभागी हुनेछन्।
कामको सिलसिलामा कुरा गर्दा, आलिया छिट्टै चलचित्र ‘अल्फा’ मा देखिनेछिन्, जहाँ उनीसँगै अभिनेत्री शर्वरी वाघले मुख्य भूमिका निर्वाह गर्नेछिन्। त्यसका साथै, आलिया ‘लभ एण्ड वार’ शीर्षकको फिल्ममा रणवीर कपूर र विक्की कौशलसँग काम गरिरहेकी छन्, जुन २०२६ को मार्च २० मा रिलिज हुने बताइएको छ।
Leave a Reply