नयाँ दिल्ली – भारत र पाकिस्तानबीचको चर्किएको द्वन्द्वमा अमेरिकाको सक्रियता फेरि एकपटक देखिएको छ। शनिबार दुवै मुलुकले एकअर्काको सैन्य हवाई अड्डामा आक्रमणको आरोप लगाइरहँदा, अमेरिकी नेताहरू दौडधूपमा लागेका थिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफसहित सम्बन्धित उच्च अधिकारीहरूसँग सम्पर्क गरेका थिए। त्यसैबेला भारत–पाकिस्तान दुवैले सैन्य कारबाही रोक्ने सहमति जनाएका छन्।
भारतको तीनै सेनाका प्रमुखहरूसँग प्रधानमन्त्री मोदीको छलफल र पाकिस्तानका डीजीएमओले भारतीय समकक्षीसँगको फोन वार्ताले वार्ताको ढोका खोल्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै प्लेटफर्म Truth Social मार्फत युद्धविरामको घोषणा गरे—भारत र पाकिस्तानले औपचारिक रूपमा घोषणा गर्नुअघि नै।
ट्रम्पको पहल र पाकिस्तानको ‘धन्यवाद’
ट्रम्पले युद्धविरामको सन्देशसँगै कश्मीर मुद्दामा मध्यस्थता गर्न इच्छा व्यक्त गरेका छन्। पाकिस्तानले ट्रम्पलाई खुलेर धन्यवाद दियो, तर भारतले भने कुनै उल्लेख गरेन। भारतको विदेश सचिव विक्रम मिश्रीले युद्धविरामको पुष्टि गरे पनि कुनै पनि बाह्य मुलुकको नाम लिएनन्।
विश्लेषकहरूका अनुसार, अमेरिका द्वन्द्व चर्किन नदिन सक्रिय भयो किनभने पाकिस्तानले चरम कदम चाल्न सक्ने अवस्था बनिरहेको थियो। विश्लेषक चिन्तामणि महापात्र भन्छन्—”अमेरिका पर्दा पछाडि सकृय रह्यो, विशेषतः पाकिस्तानलाई डीजीएमओस्तरमा वार्ताको लागि दबाब दिँदै।”
भारतको मौनता र कूटनीतिक धैर्यता
भारतले अमेरिकी प्रयासलाई बेवास्ता नगरे पनि, सार्वजनिक रूपमा धन्यवाद दिन्छ भन्ने सम्भावना छैन। कारण स्पष्ट छ—भारत द्विपक्षीय मुद्दामा तेस्रो देशको हस्तक्षेप अस्वीकार गर्छ।
पूर्व भारतीय राजदूत राजीव भाटिया भन्छन्—”अमेरिकाले ‘मध्यस्थता’ होइन, ‘facilitation’ (सहजीकरण) मात्र गर्यो। यही अन्तर बुझ्न जरूरी छ।”
कश्मीरबारे ट्रम्पको प्रस्ताव: भारतको मौन इन्कार
ट्रम्पले कश्मीर मुद्दामा पनि सहयोग गर्ने प्रस्ताव राखे। तर भारतको अडान स्पष्ट छ—कश्मीर भारत र पाकिस्तानको द्विपक्षीय विषय हो। ट्रम्पले यसरी अग्रीम घोषणाबाट श्रेय लिन खोजे पनि, भारतले चुपचाप आफ्नो नीति दोहोर्याएको देखिन्छ।
पाकिस्तानको अन्तर्राष्ट्रियरणको प्रयास
पाकिस्तानले सधैँ कश्मीर मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न खोजिरहेको सन्दर्भमा ट्रम्पको भनाइ थप हौसला बन्ने देखिन्छ। विश्लेषकहरू भन्छन्—भारत चाहन्छ कि पाकिस्तान आतंकवाद अन्त्यमा गम्भीर होस्, र यो विषयमा अमेरिका कसरी साथ दिन सक्छ, त्यो महत्त्वपूर्ण हुनेछ।
Leave a Reply