काठमाडौं – नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा दुई करोडभन्दा बढी रकमको घोटाला भएको खुलासा भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा दुई पूर्व सैनिकमाथि काठमाडौं जिल्ला अदालतमा आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको छ।
कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ अपचलन भएको ठहरसहित पूर्व जमदार आत्मराम थापा र पूर्व सेनानी लक्ष्मण अधिकारीविरुद्ध मुद्दा लगाइएको हो। प्रहरी अनुसन्धान अनुसार, उनीहरूले काल्पनिक नामहरू बनाइ चेक काटी नगद उठाएर कोषको रकम दुरुपयोग गरेका थिए।
सैनिक प्रहरी गण जंगी अड्डाले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरी अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका क्रममा आत्मराम थापा पक्राउ परे पनि लक्ष्मण अधिकारी हालसम्म फरार छन्। अदालतले अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।
थापाको बयान अनुसार, उनी सैनिक कल्याणकारी निर्देशनालयको बीमा शाखामा २०७३ देखि २०७५ सालसम्म कार्यरत थिए। उनले आफू जुनियर र चेन अफ कमाण्डअनुसार काम गर्ने भएकोले वरिष्ठ अधिकारीले भनेअनुसार चेकहरू तयार गरी नगद बुझाउने गरेको स्वीकारेका छन्।
अनुसन्धानमा थाहा भएको छ कि २०७४ कात्तिक १३ गतेदेखि २०७५ भदौ २६ गतेसम्म १४४ वटा चेकमार्फत १ करोड ७४ लाख २१ हजार ३२९ रुपैयाँ र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्मका ४० वटा चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ अपचलन गरिएको थियो।
थापाले बयानमा भनेका छन् कि लक्ष्मण अधिकारीले बिदाको सहुलियत, पेट्रोल कुपन र क्यान्टिनमा खाएको खाजाको पैसा समेत बेहोर्ने गरेका थिए। यो घटनामा संलग्न अन्य अधिकारीहरूलाई पनि सेनाले कोर्ट अफ इन्क्वायरी गठन गरेर छानबिन गरिरहेको छ।
सरकारी वकिल कार्यालयले उनीहरूबाट भएको रकम बराबरको बिगो असुली गरी पीडितलाई भर्पाइ गराउन अदालतसँग माग गरेको छ। हाल फरार रहेका लक्ष्मण अधिकारीको खोजी भइरहेको छ।
Leave a Reply