जलवायु परिवर्तनले मान्छेको भाग्य र भविष्य नै खतरामा पार्दैछः परराष्ट्र मन्त्री आरजु राणा

काठमाडौं, वैशाख ३२ – परराष्ट्र मन्त्री आरजु राणाले जलवायु परिवर्तन विश्व मानवताको भविष्यमा गम्भीर संकटको रूपमा देखा परिरहेको बताएकी छन्। शुक्रबार काठमाडौंमा सुरु भएको सगरमाथा संवादको पहिलो संस्करकणको उद्घाटन सत्रमा बोल्दै उनले विश्वकै साझा समस्याको रूपमा जलवायु संकटलाई आत्मसात गर्नुपर्नेमा जोड दिइन्।

उनका अनुसार जलवायु परिवर्तन अब कुनै एक देश वा क्षेत्रको मात्र चिन्ता नभएर सम्पूर्ण मानव जातिको अस्तित्वसँग जोडिएको विषय हो। मन्त्री राणाले जलवायु समस्यासँग जुध्नका लागि कुनै पनि देशको एकल प्रयासले पुग्ने अवस्था नरहेको बताउँदै यसलाई सम्बोधन गर्न सामूहिक र साझा प्रयास अपरिहार्य भएको उल्लेख गरिन्।

उनले सगरमाथा संवादलाई ‘वादे वादे जायते तत्वबोधः’ भन्ने आदर्श वाक्यबाट प्रेरित रहेको भन्दै विविध दृष्टिकोणबीच संवाद र बहसका माध्यमबाट समाधानको बाटो खोज्नुपर्ने धारणा राखिन्। संवादले आत्ममूल्यांकनको प्लेटफर्म दिएको र यस वर्षको विषयवस्तु ‘जलवायु परिवर्तन, पहाड र मानवताको भविष्य’ भएकाले यसको गम्भीरतामा विश्वले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनले जलवायु संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भनिन्, “हामी नदी, वन र पहाडहरूको रक्षक हौं, तर सबैभन्दा बढी असर हामीले नै झेल्नुपरेको छ। यो गम्भीर अन्याय हो र तुरुन्त सम्बोधन आवश्यक छ।”

नेपालमा बाढी, हिमनदी विस्फोटन, खडेरी, वन डढेलो र पानीको अभावले ठूलो क्षति पुर्याइरहेको भन्दै मन्त्री राणाले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को अवस्था अन्तर्राष्ट्रिय समुदायले बुझ्नुपर्ने बताइन्।

उनले स्रोत र क्षमताको सीमितताबीच नेपालले जलवायु अनुकूलन योजना कार्यान्वयन गर्न संघर्ष गरिरहेको र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग अत्यावश्यक रहेको पनि बताइन्।

राणाले भनिन्, “पृथ्वी मेरी आमा हुन् र म उनको सन्तान हुँ भन्ने सोच हामी सबैले अंगाल्न सकेमा हामीले हाम्रो पूर्खाबाट पाएका स्रोत भविष्यका सन्ततिलाई सुरक्षित रूपमा हस्तान्तरण गर्न सक्छौं।”

उनले अन्त्यमा आशा व्यक्त गर्दै भनिन्, “सगरमाथा संवाद जस्ता मञ्चहरूले जलवायु परिवर्तन, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति, खाद्य सुरक्षा, मानवीय संकट र बसाइँसराइसम्बन्धी समस्याहरूको समाधानमा सघाउनेछन्।”