बागमती सरकारले ४ पर्यटन कार्यालय खारेज, ५ जिल्लामा नयाँ संरचना

हेटौंडा, मकवानपुर | बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रको पुनःसंरचना गर्ने क्रममा चार वटा पर्यटन कार्यालय र आयोजना खारेज गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गतका अस्थायी संरचनाका रुपमा रहेका यी कार्यालयहरू हटाउने निर्णय लिएको हो।

खारेज गरिएका कार्यालयहरूमा पर्यटन विकास आयोजना हेटौंडा, पर्यटन विकास आयोजना इकाइ कार्यालय काठमाडौँ, उपत्यका पर्यटन कार्यालय काठमाडौँपर्यटन कार्यालय चितवन परेका छन्।

प्रदेश सरकारले अब यी कार्यालयहरूको सट्टामा पाँच जिल्लामा स्थायी संरचना अन्तर्गत पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। ती जिल्लाहरूमा हेटौंडा, काठमाडौँ, चितवन, नुवाकोट र दोलखा रहेका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार, अब मन्त्रालय अन्तर्गतको संगठन संरचना तेरिज (स्थायी दरबन्दी विनियोजन) स्वीकृत गरिँदैछ।

बैठकले प्रशासनिक कार्यको सुदृढता र प्राविधिकतर्फको दोहोरो संरचना हटाउँदै अबदेखि मन्त्रालय र मातहतका निकायमा प्रशासनका कर्मचारी प्रमुख रहने व्यवस्था मिलाएको छ। अघिल्लो संरचनामा परियोजनाहरूमा इन्जिनियर वा वन अधिकृत प्रमुख रहने व्यवस्था थियो।

मन्त्रिपरिषद् बैठकले यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कर्मचारी दरबन्दी पनि स्वीकृत गर्दै कम्प्युटर अपरेटरलाई प्रशासनिक कर्मचारीको रूपमा प्रयोग गर्ने निर्णय गरेको छ।

दरबन्दी पक्षमा समेत परिमार्जन गरिएको छ। यसअघि मन्त्रालय तथा मातहत निकायहरूमा ११७ जनाको दरबन्दी रहेकोमा अहिले १०६ मा झारिएको छ।

बागमती प्रदेश सरकारले लिएको यो निर्णय प्रदेशको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, प्रशासनिक रूपमा जिम्मेवार, र दीर्घकालीन रूपले सक्षम बनाउने उद्देश्यका साथ लिएको बुझिएको छ।