नयाँ दिल्ली, वैशाख २७ – भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा चुलिएको सैन्य तनावका कारण भारतले मुलुकका ३२ वटा विमानस्थलहरु आगामी मे १५ सम्मका लागि अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ।
भारतीय नागरिक उड्डयन प्राधिकरणका अनुसार यो निर्णय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गरिएको हो। भारतले ‘अपरेसन सिन्दुर’ अन्तर्गत पाकिस्तानका ९ स्थानमा गरेको हवाई आक्रमणको जवाफमा पाकिस्तानले बिहीबार ड्रोन र मिसाइल हमला गरेको थियो। त्यसपछि दुवै देशबीच आकाशमा भिडन्त चर्किएको छ।
शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानी ड्रोनले आक्रमण गरेको पुष्टि भएपछि भारतीय पक्षले थप विमानस्थलहरू बन्द गर्ने निर्णय लिएको हो।
यसअघि बन्द गरिएका २४ विमानस्थलमा थप ८ विमानस्थल थप गर्दै कुल संख्या ३२ पुगेको छ। भारतीय सेना र गुप्तचर निकायले संयुक्त सिफारिसका आधारमा यो निर्णय कार्यान्वयन गरिएको हो।
भारतले बन्द गरेका विमानस्थलहरूको सूची:
अधामपुर, अम्बाला, अमृतसर, अवान्तीपुर, बठिन्डा, भुज, बिकानेर, जैसलमेर, जामनगर, जोधपुर, कान्द्ला, कंग्रा, किशोद, कृष्णगढ, कुलु मनाली (भुन्टर), लेह, लुधियाना, मुन्ड्रा, पठानकोट, पटियाला, पोरबन्दर, राजकोट (हिरासर), सरसवा, सिमला, श्रीनगर, थोइस, उत्तरलाइ, नलिया, चन्डिगढ, हलवारा, हिन्डन, जम्मू
साथै, सीमावर्ती क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानतर्फ सार्ने काम पनि तीव्र रूपमा भइरहेको भारतीय गृह मन्त्रालयले जनाएको छ।
भारतले दाबी गरेको अनुसार, पछिल्ला दुई रातमा उसले ३०० देखि ४०० पाकिस्तानी ड्रोन नष्ट गरेको छ। अर्कोतर्फ पाकिस्तानले पनि ७२ वटा भारतीय मिसाइल र ड्रोन निष्क्रिय पारिएको दाबी गरेको छ।
दुवै देशका सञ्चारमाध्यमहरूले सीमावर्ती क्षेत्रमा ठूल्ठूला विस्फोटहरू भएको र आतङ्कको सन्त्रासले स्थानीय जनता त्रसित बनेको जानकारी दिएका छन्।
Leave a Reply