बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका–३ बाट प्रहरीले २२५ किलो गाँजा बरामद गर्दै ट्याक्टर चालकसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले गाँजा लुकाइएका ट्याक्टरको ढालामुनि विशेष च्याम्बर (फल्स बटन) बनाइएको फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार पक्राउ पर्नेमा आदर्श कोतवाल–३ बाँतरा निवासी ३० वर्षीय नन्दकिशोर मुखिया बिन, हेटौंडा नगरपालिका–४ का २१ वर्षीय कमाण प्रजा, कैलास गाउँपालिका–४ निवासी २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५ छतिवन निवासी २२ वर्षीय नवराज मगर रहेका छन्।
प्रहरीका अनुसार शुक्रवार साँझ इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले बान्तरा गाउँको खेतछेउ पार्किङ गरिएको प्र.२–०३–००१ त ४८७६ नम्बरको ट्याक्टरमा चेकजाँच गर्दा ढालामुनि फल्स बटन बनाएर लुकाइएका १५ वटा काटुनमा करिब २२५ किलो गाँजा बरामद गरिएको हो।
गाँजासहित ट्याक्टर नियन्त्रणमा लिएपछि प्रारम्भिक सोधपुछका क्रममा चालक नन्दकिशोर मुखियाले अन्य तीन जनाको संलग्नता खुलाएका थिए। त्यसपछि प्रहरीले कोल्हवी बजारस्थित रोज उड होटलको कोठा नम्बर ३०३ मा छापा मार्दै तीनै जनालाई पक्राउ गरेको हो।
प्रहरीले बरामद गरिएको गाँजा, ट्याक्टर तथा पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा सञ्चालित लागुऔषध कारोबार नियन्त्रण अभियान अन्तर्गत प्रहरीले पछिल्ला दिनमा लागुऔषध तस्करीमा कडाइ गरिरहेको छ। यस किसिमको योजनाबद्ध तस्करी फेल भएको घटना पछिल्लो समयको सफल अनुसन्धानका रूपमा लिइएको छ।
Leave a Reply