यसपालिको मनसुनमा वर्षा र गर्मी दुवै बढ्ने प्रक्षेपण

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले यसपालिको मनसुन अवधिमा सरदरभन्दा धेरै पानी पर्ने र तापक्रमसमेत बढी हुने प्रक्षेपण गरेको छ।

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रिय मनसुन फोरम’ कार्यक्रममा मौसमविद्हरूले देशभरि मनसुनको प्रभाव अधिक रहने र क्षतिको जोखिम समेत बढ्न सक्ने बताएका हुन्। विभागकी वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार, यस वर्ष मनसुन अवधिभर ५५ देखि ६५ प्रतिशत स्थानहरूमा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना देखिएको छ। त्यसैगरी न्यूनतम र अधिकतम तापक्रम पनि औसतभन्दा माथि रहने सम्भावना रहेको उनले बताइन्।

मौसमविद् प्रतिभा मानन्धरले नेपालको सन्दर्भमा वार्षिक ८० प्रतिशत वर्षा मनसुन अवधिमा हुने भएकाले अग्रिम तयारी आवश्यक रहेकोमा जोड दिइन्। उनका अनुसार, नेपालको कुल विपद्मध्ये झन्डै ४० प्रतिशत विपद् यही समयमा हुने गर्छन्।

उनले भनिन्, ‘‘यदि मनसुन आउनुअघि नै तयारीमा लाग्यौँ भने बाढी, पहिरो, धनजनको क्षति जस्ता जोखिम घटाउन सकिन्छ। हामीले एक्शन लिन ढिला गर्न हुँदैन।’’

नेपालमा जूनदेखि सेप्टेम्बरसम्मलाई मनसुनको अवधि मानिन्छ। विभागका अनुसार हरेक वर्ष मनसुनसँगै जोडिएका घटनामा करिब ३०० जनाको मृत्यु हुने र दुई सय मिलियन डलरभन्दा बढीको क्षति हुने गरेको छ।