बुटवल। रुपन्देहीस्थित भैरहवा विशेष आर्थिक क्षेत्र (SEZ) देशको औद्योगिक गतिशीलता बढाउँदै लम्किरहेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगहरूको उत्पादन र निर्यात दुवै पक्षमा उल्लेखनीय वृद्धिले सेजलाई सम्भावनाको केन्द्रका रूपमा चिनाउन थालेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा कुल ९१ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु उत्पादन भएकोमा त्यसको ६० प्रतिशत निर्यात गरिएको थियो। यस वर्षको चैत मसान्तसम्ममा उत्पादन १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने निर्यात पनि ७६ करोड ८४ लाख रुपैयाँ पार गरेको छ।
सेजका प्रमुख इन्जिनियर सुमित डुम्रेका अनुसार, यहाँ सञ्चालित १० उद्योगले गत वर्षको तुलनामा उत्साहजनक प्रगति गरेका छन्। ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ वटा प्लट रहेका छन् भने थप ४ नयाँ उद्योग निर्माणको क्रममा छन्।
उद्योगहरूको गतिविधि कस्तो ?
शक्ति मिनरल्स प्रालिले चालु वर्षमा ११ करोड रुपैयाँ बराबरको उत्पादन गर्दै क्रसरजन्य वस्तु र कुखुराको दानाका लागि क्याल्सियम आपूर्ति गरिरहेको छ, जसको प्रमुख बजार भारत हो। यसले कुल उत्पादनको ४९ प्रतिशत निर्यात गरेको छ।
भीस्टार ग्लोबल प्रालिले स्टिल भाँडा उत्पादन गर्दै ७२ करोडको कारोबार गरेको छ, जसको ८८ प्रतिशत निर्यातमा गएको छ। यो हाल सेजको सबैभन्दा ठूलो निर्यातक कम्पनी बनेको डुम्रेको भनाइ छ।
ब्रिलियेन्ट लाइटिङ प्रालिले एलईडी लाइट उत्पादन गर्दै ३४ प्रतिशत निर्यात पुर्याएको छ भने तिरुपति मेटल क्राफ्टले ब्याट्री लिड उत्पादन गर्दै १६ प्रतिशत निर्यात गरेको छ।
पञ्चकन्या स्टिल ट्याङ्कले उत्पादन रोके पनि अघिल्लो स्टकको ९२ प्रतिशत सामग्री निर्यात गरेको छ। जयबुद्ध मेटल क्राफ्ट बन्द भएको छ भने आरसी इन्डस्ट्री नयाँ उद्योगको रूपमा देखिँदै पुरानो ब्याट्रीबाट लिड उत्पादनमा लागेको छ, जसले १४ प्रतिशत निर्यात गरेको छ।
इको नेपाल इनर्जी, हिमालयन ग्रेनाइट, एस पोलिमर्स र हिमालय ईको इनर्जी प्रालिले भने अहिलेसम्म निर्यात थालेका छैनन्।
नीतिगत सुधार र सहुलियतको प्रभाव
सेजको आरम्भमा प्रतिवर्गमिटर १५० रुपैयाँ भाडा तोकिएको थियो, जुन अहिले घटाएर २० रुपैयाँ पुर्याइएको छ। निर्यातको न्यूनतम सीमा पनि ७५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा ल्याइएपछि उद्योगीको चासो बढेको हो।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालका अनुसार, प्रारम्भिक चुनौतीहरू हटाउँदै सरकारले उद्योगमैत्री नीति ल्याएपछि विस्तार सम्भव भएको हो।
अर्थ अनुसन्धान केन्द्र लुम्बिनीका संयोजक हुमराज भुसालले कोभिडपछिको आर्थिक पुनरुत्थानमा सेजको यो सुधारात्मक भूमिका महत्वपूर्ण रहेको बताए।
सेजमा के–कस्ता उद्योग स्थापना गर्न सकिन्छ?
सरकारले वातावरणमैत्री उद्योगहरूलाई प्राथमिकता दिँदै सेजमा खाद्य प्रशोधन, कृषिजन्य उत्पादन, हर्बल प्रोडक्ट, छालाजन्य सामग्री, तयार पोशाक, हाते कागज, गलैंचा, पस्मिना, रेसम जस्ता १७ प्रकारका उद्योगलाई अनुमति दिएको छ।
Leave a Reply