२७ वैशाख, काठमाडौं । भारतको ‘अपरेशन सिन्दूर’को जवाफी प्रतिक्रिया स्वरूप पाकिस्तानले शनिबार बिहानबाट ‘बुनयान-उल-मरसूस’ नामक अपरेशनको सुरुवात गरेको छ। पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर-सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) अनुसार यो कारबाही भारतको मिसाइल आक्रमणको उत्तरमा गरिएको हो।
अलजजिरा टेलिभिजनले सेनासम्बन्धी स्रोतलाई उद्धृत गर्दै जनाएको छ कि पाकिस्तानले भारतको उधमपुरस्थित वायुसेना बेस र पठानकोटको एयरफिल्डलाई निशाना बनाएको छ। यस्तै, भारतको पञ्जाब राज्यस्थित ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थलसमेत हमलाबाट प्रभावित भएको दाबी गरिएको छ।
पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले टेलिभिजन सम्बोधनमा भारतले रावलपिन्डी, चकवाल र झांग जिल्लाका तीन प्रमुख वायुसेना अड्डामाथि मिसाइल आक्रमण गरेको आरोप लगाए। उनले थपे, “तीनै अड्डाका संरचना सुरक्षित छन् र सबै हमलाको जवाब दिइएको छ।”
शरीफका अनुसार केही भारतीय मिसाइल अफगानिस्तानसम्म पुगेका छन् भन्ने दाबी पनि गरिएको छ, यद्यपि उक्त दावीको प्रमाण सार्वजनिक गरिएको छैन। पाकिस्तानले आफू सँग प्रमाण भएको दाबी मात्र गरेको छ।
यता, भारतको रक्षा मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै देशभरका २६ स्थानहरूमा शंकास्पद सशस्त्र ड्रोन देखिएको जानकारी दिएको छ। मन्त्रालयले खासगरी सीमा क्षेत्र नजिकका क्षेत्रमा ती ड्रोनहरूले नागरिक संरचना र सैन्य ठाँउहरूमा खतरा सिर्जना गरेको जनाएको छ।
फिरोजपुर क्षेत्रमा भएको एक ड्रोन हमलामा केही स्थानीय नागरिक गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। भारतीय सशस्त्र बलहरूलाई सतर्क अवस्थामा राखिएको र हरेक हवाई खतरा विरुद्ध काउन्टर-ड्रोन सिस्टम प्रयोगमा ल्याइएको जानकारी पनि दिइएको छ।
रक्षा मन्त्रालयले सीमावर्ती क्षेत्रका नागरिकहरूलाई घरभित्रै रहन र सुरक्षासम्बन्धी निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। मन्त्रालयले भनेको छ, “डराउनु पर्दैन, तर सतर्कता अत्यावश्यक छ।”
‘बुनयान-उल-मरसूस’को अर्थ इस्लामिक सन्दर्भमा ‘सिसाबाट बनेको बलियो पर्खाल’ भन्ने जनाइएको छ। अपरेशनको नाम कुरानबाट लिइएको हो, जसले एकता, अनुशासन र राष्ट्र सुरक्षाको दृढ संकल्पलाई जनाउँछ।
Leave a Reply