काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले देखिएको विद्युत आपूर्तिको समस्या पूर्वप्रबन्धक कुलमान घिसिङको कार्यकालमै सुरु भएको दाबी गरेको छ । प्राधिकरणले पत्रकारहरूसँगको छलफलमा हालको समस्या नयाँ नभई विगतकै निरन्तरता भएको स्पष्ट पार्दै यसको समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको जनाएको हो ।
आइतबार पत्रकारलाई दिइएको सूचनामार्फत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सचिवालयले झ्याप–झ्याप बिजुली जाने समस्या प्रि–मनसुन र मनसुनको समयमा बढ्ने गरेको उल्लेख गर्दै, त्यस्तो समस्या घिसिङको कार्यकालमै पनि देखिएको जनाएको छ ।
सचिवालयका अनुसार सोही कारण २०७८ सालमा तत्कालीन उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति पनि गठन गरिएको थियो । तर, त्यस समितिको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नभएको र कार्यान्वयन नभएकोप्रति समेत प्राधिकरणले गुनासो पोखेको छ ।
प्राधिकरणको दाबी अनुसार, उच्चस्तरीय समिति जनआक्रोश कम गर्न बनाइएको थियो, समस्या समाधान गर्न होइन । विद्युत सञ्जाललाई योजनाबद्ध रुपमा विकास नगरी सस्तो लोकप्रियताका लागि वितरण र प्रसारण प्रणाली विस्तार गर्दा प्रणाली कमजोर भएको र अहिलेको समस्या त्यसकै परिणाम भएको उल्लेख गरिएको छ ।
प्राधिकरणले पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएको ‘लोडसेडिङ’सम्बन्धी प्रचारलाई गलत र नियोजित भनेको छ । संस्थाले कुनै पनि ठाउँमा लोडसेडिङ नभएको, देखिएको समस्या प्राविधिक मात्रै भएको र सामाजिक सञ्जालमा यसको नकारात्मक प्रभाव पार्ने उद्देश्यले प्रचार गरिएको आरोप लगाएको छ ।
प्राधिकरणले उल्लेख गरे अनुसार, अहिलेको नेतृत्व सस्तो लोकप्रियताको पछि नलागी समस्या समाधानमा गम्भीरतापूर्वक लागेको छ, तर परिणाम देखिन समय लाग्नेछ । यदि विगतमै प्राविधिक समस्यालाई गम्भीरतापूर्वक लिएर काम भएको भए आजको अवस्था नआउने प्राधिकरणको भनाइ छ ।
प्राधिकरणले सबैलाई संयमित भई समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्दै प्राविधिक समस्याको समाधान प्राविधिक उपायबाटै खोज्नुपर्ने स्पष्ट पारेको छ ।
Leave a Reply