बिर्तामोड, झापा — झापाको बिर्तामोड नगर अस्पतालमा सेवा लिने बिरामीको चाप उल्लेखनीय रूपमा बढेको छ। सुविधासम्पन्न भवनबाट सेवा दिन थालेसँगै अस्पतालमा अहिले दैनिक चार सयदेखि पाँच सय जनासम्म बिरामी आउने गरेका छन्।
नगर प्रमुख पवित्रा महतारा प्रसाईंले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको बताइन्। उनका अनुसार नगर अस्पताललाई चौबिसै घण्टा सञ्चालन गर्ने तयारी भइरहेको छ। यद्यपि, अस्पतालको नयाँ भवन निर्माणमा निर्माण कम्पनीले काममा ढिलाइ गरिरहेकाले समस्या भइरहेको उनको भनाइ छ।
हाल नगर अस्पतालमा १५ शैय्या छन्, जसलाई २५ शैय्यामा विस्तार गर्ने लक्ष्य राखिएको छ। अस्पतालको नयाँ भवन निर्माणका लागि १५ करोड ३४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।
उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाका अनुसार अस्पतालको सेवा प्रभावकारी बनिरहेका कारण अन्य जिल्लाबाट जनप्रतिनिधिहरू अनुभव साट्न बिर्तामोड आउने गरेका छन्। उनले अस्पतालले छिट्टै डायलाइसिस सेवा सुरु गर्ने जानकारी दिए। डायलाइसिस सेवाका लागि आवश्यक ६ वटा मेसिन दाताबाट प्राप्त भएको हो।
बिर्तामोड नगरपालिकाले एक नगर अस्पतालसहित आठ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्रहरू स्थापना गरेको छ। तीमध्ये आठवटा केन्द्र भवनको निर्माण ३ करोड ९६ लाख रुपैयाँ लागतमा सम्पन्न भइसकेको छ।
स्वास्थ्य शाखा प्रमुख राजिव विष्टका अनुसार यी केन्द्रहरूबाट १२७ प्रकारका औषधिहरू निःशुल्क वितरण भइरहेका छन्। हालसम्म बिर्तामोड नगरपालिकाका स्वास्थ्य संस्थामार्फत ८९ हजार ७ सय ६४ जनाले सेवा लिइसकेका छन्।
नगर क्षेत्रभित्र घरमै सुत्केरी गराउने दर अहिले शून्यमा झरेको छ। नगर अस्पतालमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म आकस्मिक सेवा सञ्चालनमा रहेको छ। अस्पतालमा चिकित्सकसहित ६० जनाको स्वास्थ्यकर्मी टोली परिचालनमा छ।
बिर्तामोड नगरपालिकाको सक्रियता र लगानीले गर्दा स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा पहुँचमा पुग्न थालेको संकेत देखिएको छ।i
Leave a Reply