रूपन्देहीका सीमा नाकाहरूमा सुरक्षा निगरानी कडा, तालिम प्राप्त कुकुर समेत परिचालन

भारत–पाकिस्तानबीच चर्किँदो द्वन्द्व र सम्भावित क्षेत्रीय जोखिमलाई ध्यानमा राख्दै रूपन्देही जिल्लाका सीमा नाकाहरूमा सुरक्षा निगरानी थप कडा बनाइएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार नेपाल–भारत सीमाबाट अवैध आवतजावत हुन नदिनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोशाकमा रहेका सुरक्षाकर्मीहरू सक्रिय रुपमा परिचालनमा छन्।

उनले भने, “छिमेकी मुलुकमा द्वन्द्व चर्किंदै जाँदा नेपालमा कुनै अप्रिय गतिविधि नहोस् भनेर हामी स्वतःस्फूर्त रूपमा सजग भएका हौं।” उनका अनुसार पछिल्लो समय भारतले पाकिस्तानमा द्वन्द्व चर्काएको घटनापछि बिहीबारदेखि नै रूपन्देहीका सीमा नाकामा विशेष निगरानी थालिएको हो।

तालिम प्राप्त कुकुर ‘डेजी’ र ‘साया’ परिचालन

सशस्त्र प्रहरी बलले तालिम प्राप्त डग हेण्डलर कुकुर ‘डेजी’ र ‘साया’ लाई प्रमुख नाका बेलहिया, लुम्बिनी, भगवानपुर, मर्चवार, दुर्गौलिया लगायतका क्षेत्रमा परिचालन गर्दै निगरानीलाई अझ प्रभावकारी बनाएको छ। आवश्यकता अनुसार यी कुकुरलाई सबै नाकामा खटाउने तयारी गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

हरेक यात्रुमा निगरानी, सादा पोशाकमा गस्ती

सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीले गाडी, मोटरसाइकल, साइकल तथा पैदल यात्रुहरू सबैप्रति निगरानी बढाएका छन्। शंकास्पद व्यक्तिहरूको परिचय पत्र जाँच गरिनुका साथै आवश्यक सोधीखोजी र खानतलासी समेत गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

साथै सादा पोशाकका सुरक्षाकर्मीमार्फत समेत २४ सै घण्टा गस्ती भइरहेको छ। सीमाबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको अभिलेख राख्ने प्रणाली पनि लागू गरिएको छ।

भारतीय सीमा सुरक्षा बल पनि सतर्क

रूपन्देहीसँग जोडिएको झण्डै ७० किलोमिटर लामो सीमा क्षेत्र भारतसँग खुला भएकाले भारतीय सुरक्षा निकायहरूले पनि मुख्य र भित्री नाकामा कडाइ गरेका छन्। भारतीय सीमा सुरक्षा बलले पनि सर्वसाधारणको फोटो खिच्ने, परिचयपत्र जाँच गर्ने र खानतलासी गर्ने कार्य नियमित रुपमा गरिरहेको छ।

यद्यपि, अहिलेसम्म सीमा क्षेत्रमा कुनै शंकास्पद गतिविधि देखिएको छैन र भारतीय पक्षबाट औपचारिक जानकारी पनि प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी घिमिरेले स्पष्ट पारे।

रूपन्देहीको खुला सीमा क्षेत्रलाई सुरक्षित राख्न नेपाल सरकारले लिएको सावधानी र तयारी नेपालको आन्तरिक सुरक्षा सुदृढीकरणतर्फको सकारात्मक पहल मानिएको छ।