मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सीमामा पर्ने गैरीगाउँमा वैशाख १९ गते राति बलेरो जिप भासिएर बेपत्ता भएको घटनापछि घटनास्थलमा पुगेको विज्ञ टोली अनुसन्धानपछि काठमाडौं फर्किएको छ। भूगर्भविद्हरुको टोलीले भासिएको स्थानको वरिपरि बोरिङ गरी पानी सङ्कलन गरेको थियो, जसलाई हाल ल्याब परीक्षणका लागि काठमाडौं लगिएको हो।
टोलीका प्रमुख नारायण अधिकारीका अनुसार जमिन अझै भासिँदै गइरहेको अवस्था देखिएकाले थप अनुसन्धानमा अवरोध आएको छ। यसैले हालको प्राथमिक परीक्षणपछि आउने रिपोर्टको आधारमा दोस्रो चरणको खोजतलासलाई तीव्रता दिने योजना बनाइएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालका अनुसार घटनास्थल वरिपरि मंगलबार समेत खोजतलास जारी रहे पनि हालसम्म जिप फेला परेको छैन। थप दुर्घटना र मानवीय क्षति रोक्नका लागि उक्त क्षेत्रलाई सुरक्षा घेरामा राखिएको छ।
Leave a Reply