गौशालामा यात्रुवाहक बस अनियन्त्रित, ७ सवारीलाई ठक्कर

काठमाडौँको गौशालास्थित पिंगलास्थानमा बुधबार यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको छ। एयरपोर्टतर्फ गइरहेको बा.५ ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बसले अन्य ७ वटा सवारी साधनलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिएका छन्।

दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा धादिङका ३२ वर्षीय राजकुमार श्रेष्ठ, नुवाकोटका २२ वर्षीय विकास कट्टेल र खोटाङका ३७ वर्षीय शैलेन्द्र राई रहेका छन्। राजकुमार श्रेष्ठ र शैलेन्द्र राई मोटरसाइकल चालक रहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने गोकर्णेश्वर यातायातका बस चालक भने फरार छन्। बसले ठक्कर दिएको सवारीहरूमा बा.५ ख ७३१ नम्बरको हायस माइक्रो, बागमती प्रदेश–०१–०२६ च ८५७६ नम्बरको कार, बिएसी ९७७३ नम्बरको कार, बा.१६ च ४४५२ नम्बरको कार, प्रदेश–२–०१–००३ प १००५ नम्बरको मोटरसाइकल, बा.५१ प २२ नम्बरको मोटरसाइकल र बागमती प्रदेश–०२–०४६ प ४८१९ नम्बरको स्कुटर छन्।