काठमाडौँ — सोलुखुम्बुको पत्ताले, गौरी टाप र ओखलढुङ्गाको रुम्झाटार लगायतका ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’ले आयोजना गर्न लागेको तेस्रो संस्करणको ‘स्पार्क एड्भेञ्चर २०२५’ मा दुई दर्जनभन्दा बढी सेलिब्रेटीहरूको सहभागिता रहने भएको छ।
आयोजकका अनुसार महानायक राजेश हमाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता तथा पाइलट विजय लामा, गायिका आनी छोइङ डोल्मा, हास्यकलाकार सन्दीप क्षेत्री र राजा राजेन्द्र, बीबीसी मास्टरसेफ विजेता सन्तोष शाह, फिल्म निर्देशक रामबाबु गुरुङ र अमन प्रताप अधिकारी, नाट्यकर्मी अनुप बराल, कवि विप्लव प्रतीक लगायतका चर्चित व्यक्तित्वहरूले यस रोमाञ्चक यात्रामा सहभागिता जनाउनेछन्।
गएको वर्षहरूमा जस्तै यस वर्ष पनि स्पार्क एड्भेञ्चर ‘गेट वे टु एभरेष्ट’ शीर्षकमा वैशाख २६ देखि २८ गतेसम्म आयोजना हुँदैछ। कार्यक्रमको पहिलो दिन काठमाडौँदेखि गौरी टापसम्म विद्युतीय सवारीमा यात्रा गरिनेछ। सहभागीहरूलाई गौरी टापमा टेन्ट क्याम्पको अनुभव दिने तयारी गरिएको छ, जहाँ उनीहरूले स्थानीय परिकारको स्वाद लिँदै हिमशृङ्खलाको दृश्य अवलोकन गर्नेछन्।
गौरी टापबाट सगरमाथा, गौरीशङ्कर, ल्होत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घा लगायतका विश्वप्रसिद्ध हिमशिखरहरूको मनमोहक दृश्य देख्न सकिन्छ। यस क्षेत्रमा पाइने दुई दर्जनभन्दा बढी जातका लालीगुराँस र धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने मन्दिरहरू पनि यस क्षेत्रको विशेषता हुन्।
कार्यक्रमको दोस्रो दिन सूर्योदयसँगै हिमालहरूको सुनौलो छायाचित्र अवलोकन गरिसकेपछि सहभागी टोली ओखलढुङ्गाको रुम्झाटार पुग्नेछ। त्यही दिन दिउँसो स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने कन्सर्ट आयोजना गरिनेछ।
कन्सर्टमा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रेमराजा महत, राजु लामा, सुनिता दुलाल, बिमलराज क्षेत्री र आस्था रावतको साङ्गीतिक प्रस्तुति रहनेछ। सांस्कृतिक विविधता, संगीत र पर्यटनलाई जोड्ने यस कार्यक्रमले ओझेलमा परेका गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ।
Leave a Reply