सिङ्गापुरमा विनोद चौधरी र बिल गेट्सबीच भेटवार्ता, ‘बलियो नेपाल’ अभियानको चर्चा

नेपालका एकमात्र फोर्ब्स अर्बपति तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सिङ्गापुरमा माइक्रोसफ्टका सह-संस्थापक र विश्व चर्चित परोपकारी अर्बपति बिल गेट्ससँग विशेष भेटवार्ता गरेका छन्।
उक्त भेटका क्रममा दुवै व्यक्ति बीच नेपालको स्वास्थ्य सेवा, बालपोषण, रोजगारीका चुनौतीहरू तथा दीर्घकालीन समाधानका उपायहरूबारे गम्भीर छलफल भएको चौधरी ग्रुपले जानकारी दिएको छ।

भेटवार्तामा भूकम्प २०७२, कोभिड–१९ महामारी जस्ता आपदाहरूमा गेट्स फाउन्डेसनले पुर्‍याएको सहयोगको चर्चा गर्दै, चौधरीले “बलियो नेपाल” अभियानमा गरिएको साझेदारीको लागि गेट्स फाउन्डेसनप्रति आभार व्यक्त गरे।

यो भेटवार्तालाई नेपाली निजी क्षेत्र र अन्तर्राष्ट्रिय परोपकारी संस्थाबीचको सशक्त सहकार्यको उदाहरणको रूपमा हेरिएको छ।
नेपाल जस्तो विकासशील राष्ट्रका लागि यस्तो उच्चस्तरीय छलफलले भविष्यमा स्वास्थ्य तथा रोजगार क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

विनोद चौधरीको अन्तर्राष्ट्रिय नेटवर्क र गेट्स फाउन्डेसनको सामाजिक दृष्टिकोणले “स्मार्ट सहयोग” मार्फत नेपालमा दीगो सुधार ल्याउने सम्भावना झन् प्रबल भएको छ।