तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्राको रौनक

काभ्रेपलाञ्चोक । ऐतिहासिक शहर बनेपामा करिब दुई हजार पाँच सय वर्षदेखि निरन्तर चण्डेश्वरी जात्रा मनाइँदै आएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि तीन दिनसम्म विशेषगरी नेवार समुदायले यो जात्रा भव्यताका साथ मनाउने परम्परा रहेको छ ।

चण्डी पूर्णिमा अर्थात् चण्डेश्वरी पूजाको दिनमा मन्दिर परिसर बेहुलीझैं सिँगारिन्छ । यसवर्ष पनि सोमबारदेखि तीन दिनसम्म चण्डेश्वरी जात्रा सुरु हुँदैछ । जात्राको तयारीमा जात्रा व्यवस्थापन समिति र स्थानीय बासिन्दाहरू जुटिरहेका छन् ।

जात्राको सुरुवात अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने खड्गसँगै विशेष पूजा गरी गरिन्छ । त्यसपछि बनेपाका घरघर चोख्याइन्छन् । जात्रामा सरकारका तर्फबाट पनि पूजारीको सहभागिता हुने हुँदा यो पर्वको गरिमा झनै बढेको मानिन्छ ।

पूर्णिमाको दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । चण्डेश्वरी देवीलाई तुलसी काठबाट बनेको रथमा राखी नगर परिक्रमा गराइन्छ । त्यस्तै, बनेपाको तीनधारामा पाङ्ग्रा नभएको खाली खटलाई भेडाको बलि दिएपछि बाजागाजासहित मन्दिरसम्म बोकेर पुर्‍याइन्छ ।

बजारका हरेक झ्यालझ्यालबाट रथ तान्ने युवाहरूलाई साहस थप्ने परम्परा छ । स्थानीय घरघरमा तयार गरिएका प्रसादहरू झ्यालबाटै देवीलाई अर्पण गरिन्छन् । खटलाई मन्दिर नजिक पुर्‍याएपछि चण्डेश्वरीको मूर्तिलाई त्यसमा राखिन्छ ।

दोस्रो दिन बकुटोलमा रहेको भण्डासुरको वधस्थल मानिएको स्थानमा रथ पुर्‍याएर पूजा, बलि र स्वागत गरिन्छ । त्यहाँबाट मूर्तिलाई पुनः लायकू दरबार हुँदै सानो खटमा राखेर वकुटोल फर्काइन्छ ।

तेस्रो दिन सानो खटमा राखिएको मूर्ति फेरि चण्डेश्वरी मन्दिरमा ल्याइएपछि जात्रा सम्पन्न हुन्छ । त्यसपछि सबै श्रद्धालु धिमे, नाय्खिं, छुस्या लगायतका बाजासहित चिराग बोकी लायकुमा जम्मा भई जलेश्वर महादेवसम्म पुगेर विसर्जन गर्छन् ।

जात्राको दौरान मन्दिरभित्र रहेका पिंग देवताका नाममा १२ वटा बोकालाई बलि दिइन्छ । तीमध्ये एक बोका द्वारेलाई, अर्को जोशीलाई दिइन्छ । बाँकी मासु कलंदानको रूपमा बाँडिन्छ ।

कलंदान जात्रामा प्रसाद स्वरूप मानिसहरूबीच फालिन्छ । यो जात्रा मानन्धर, भोछिभोया, राजवाहक लगायत नेवार समुदायसँग गहिरो सम्बन्ध राख्ने भएकाले विशेष महत्वका साथ मनाइन्छ । जात्रा अवधिभर बनेपाका विद्यालय तथा कार्यालयहरू बन्द गरिन्छन् ।

जहाँसुकै रहेका बनेपालीहरू पनि यो जात्राका लागि फर्किन्छन् । जनविश्वास अनुसार, चण्डेश्वरी जात्रामा नहुनु अपशकुन मानिन्छ ।

किंवदन्ती अनुसार, प्राचीन समयमा चण्डासुर नामका दैत्यले तपस्या गरेर पुरुषबाट नमारिने वरदान पाए । त्यसपछि देवताहरू भागेर बनेपाको रक्तचन्दन वनमा शरण लिए ।

चण्डासुरले त्यही वनमा रहेको युवती (चण्डेश्वरी) माथि आक्रमण गरेपछि उनी देवीको रूपमा प्रकट भई चण्डासुरको बध गरिन् । त्यस दिनको सम्झनामा बनेपामा चण्डेश्वरी जात्रा मनाउने परम्परा सुरु भएको जनश्रुति रहेको छ ।