छत्तीसगढमा भीषण सडक दुर्घटना, १३ जनाको मृत्यु

नयाँ दिल्ली | भारतको छत्तीसगढ राज्यमा भएको एक दर्दनाक सडक दुर्घटनामा कम्तीमा १३ जनाको ज्यान गएको पुष्टि भएको छ। घटना राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा पर्ने बाङ्गोली क्षेत्रमा आइतबार राति भएको हो।

दुर्घटनामा ज्यान गुमाउने सबैजना नवजात शिशुको “छठी” उत्सव (जन्मेको छैटौँ दिनको पारिवारिक समारोह) मा सहभागी भएर घर फर्किरहेका थिए। उनीहरू सवार सवारी साधन ठूलो ट्रेलर सँग ठोक्किँदा यो भीषण दुर्घटना भएको छ।

जिल्ला कलेक्टर गौरव सिंह ले बीबीसीलाई बताएअनुसार, “खरोरा क्षेत्रको बाना गाउँमा पारिवारिक समारोह सकेर फर्किंदै गर्दा गाडी दुर्घटनामा परेको हो। हालसम्म १३ जनाको मृत्यु पुष्टि भएको छ।”

एक दर्जनभन्दा बढी गम्भीर घाइते

यो दुर्घटनामा १२ जनाभन्दा बढी व्यक्ति गम्भीर घाइते भएका छन्। घाइतेहरूलाई तत्काल रायपुरस्थित सरकारी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका अधिकांश व्यक्ति चटौड गाउँ (विधान सभा प्रहरी चौकी क्षेत्र) का हुन्, जो खरोरा चौकी क्षेत्रको बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए। राति अबेर घर फर्कँदै गर्दा दुर्घटना भएको हो।

सडक लामो समयसम्म बन्द

रायपुर–खरोरा सडक दुर्घटनापछि घण्टौँसम्म बन्द गरिएको थियो। ट्राफिक व्यवस्थापनका लागि प्रहरी खटाइएको थियो भने दुर्घटनास्थलबाट गाडी हटाउनका लागि क्रेन प्रयोग गरिएको थियो।

स्थानिय शोकमा

यो दुर्घटनाले स्थानीय क्षेत्रमा स्तब्धता र शोक छाएको छ। सामाजिक सञ्जाल तथा स्थानीय मिडियामा पीडितप्रति समवेदना प्रकट गरिँदैछ। छत्तीसगढ सरकारले पीडित परिवारलाई सहयोगका लागि पहल गरिरहेको जनाइएको छ।