मुख्यमन्त्री आचार्य र स्विस राजदूतबीच शिष्टाचार भेटवार्ता सम्पन्न

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नेपालका लागि स्विजरल्याण्डका राजदूत डा. ड्यानिएल मेउलीबीच बुधबार शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। देउखुरीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा दुबै पक्षबीच संघीय शासन सुदृढीकरण, विकास साझेदारी, र सामाजिक क्षेत्रका महत्वपूर्ण मुद्दामा छलफल भएको हो।

भेटवार्तामा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले आत्मनिर्भरतातर्फ उल्लेखनीय कदम चालेको भन्दै स्विस सरकारसँग स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा मानसिक स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी सहयोगको अपेक्षा व्यक्त गरे। उनले विशेषगरी मानसिक स्वास्थ्यमा कार्यरत चिकित्सकहरूको व्यवस्थापन र दीर्घकालीन निरन्तरताका लागि स्विस सरकारसँग सहकार्यको प्रस्ताव समेत राखे।

स्विस राजदूत डा. मेउलीले नेपालमा संघीय शासन व्यवस्थाको संस्थागत विकासमा स्विस सरकार सधैँ सहयोगी रहेको उल्लेख गर्दै सुरक्षित आप्रवासन, मानसिक स्वास्थ्य र प्राविधिक शिक्षामा हाल भइरहेको साझेदारीलाई आगामी दिनमा झनै विस्तार गर्ने प्रतिबद्धता जनाइन्। उनले प्राविधिक शिक्षामा पहुँच वृद्धि तथा क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारसँग सहकार्य गर्न सकिने संकेत दिइन्।

भेटवार्तामा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, निमित्त प्रमुख सचिव ईश्वरराज पौडेललगायतका अधिकारीहरूको उपस्थिति थियो।