चीनसँग वार्ताअघि ट्रम्पको स्पष्ट सन्देश: उच्च भन्सार महसुल घट्ने छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार वार्ता अगाडि कुनै पनि हालतमा उच्च भन्सार महसुल नघटाउने स्पष्ट पारेका छन्। स्विट्जरल्याण्डमा चिनियाँ उपप्रधानमन्त्री हि लिफेङसँग अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको आगामी वार्ताको पूर्वसन्ध्यामा ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन्।

एनबिसीसँगको अन्तर्वार्तामा ट्रम्पले भने, “कुनै समयमा महसुल घटाउनेछु, तर अहिले होइन। चीनसँग अहिले जुन व्यापारिक अवस्था छ, त्यसमा हामीले उनीहरूसँग निष्पक्ष सम्झौता नगरी महसुल घटाउनु मूर्खता हुनेछ।”

अघिल्ला साता चीनसँग वार्ताको वातावरण सकारात्मक बनाउन भन्सार महसुल घटाउने संकेत दिएका ट्रम्पको पछिल्लो अभिव्यक्ति पूर्णतः विपरित देखिन्छ। उनले चीनले अमेरिकासँग व्यापारको लागि आफूभन्दा बढी इच्छुक रहेको टिप्पणी गर्दै भन्सार दरमा सहमति नहुँदासम्म कुनै कदम नचालिने जनाएका छन्।

ट्रम्पको “झुकेपछि झन् कडा माग” रणनीति

ट्रम्पले चिनियाँ नेतृत्व सम्झौताका लागि झुकेमा आफूले थप सर्तहरू अगाडि सार्ने रणनीति लिएको आरोप पनि लागेको छ। चीनले यसको जवाफ स्वरूप झनै कठोर प्रतिक्रिया दिँदै अमेरिकी उत्पादनमा भारी भन्सार लगाएको छ।

हाल अमेरिकाले चीनमाथि १४५ प्रतिशतसम्म भन्सार लगाएको छ भने चीनले पनि जबाफी रूपमा १२५ प्रतिशत महसुल तोकेको छ। यति मात्र होइन, चीनले अमेरिकी कम्पनीहरू जस्तै बोइङसँगको सम्झौता रोकेर तथा दुर्लभ खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगाएर व्यापार युद्धलाई फराकिलो बनाएको छ।

स्मार्टफोनमा छुट, तर केवल अस्थायी?

ट्रम्पले केही दिनअघि स्मार्टफोन लगायत केही इलेक्ट्रोनिक्समा रेसिप्रोकल भन्सार नलगाउने घोषणा गरेका थिए, तर यो छुट पनि अस्थायी मानिएको छ। विश्लेषकहरूका अनुसार यो रणनीति ट्रम्पको लोकप्रियता र घरेलु बजार दबाबकै परिणाम हो।

अमेरिकी खुद्रा बजारको चासो

वालमार्ट, टार्गेट, र होम डिपोजस्ता ठूला खुद्रा व्यवसायीहरूले ट्रम्पसँगको भेटमा मूल्यवृद्धि, आपूर्ति संकट र उपभोग्य वस्तुको अभावको जोखिमबारे चेतावनी दिएका थिए। उनीहरूको दबाबपछि ट्रम्पले महसुलमा ‘भावी कटौती’ को संकेत दिएका थिए।

तर अहिले ट्रम्पको धारणा फेरिएको छ — चीनसँग व्यापारिक सहमति नभएसम्म कुनै रियायत नदिने कडाइ देखिन्छ। यसले दुई अर्थतन्त्रबीचको तनाव अझै तन्किने संकेत गर्छ।