रक्सौल सीमामा कडाइबीच चार चिनियाँ नागरिक पक्राउ, पाकिस्तानसँगको सम्बन्धको आशंका

भारत–नेपाल सीमाको रक्सौल नाकाबाट चार जना चिनियाँ नागरिकलाई भारतीय सुरक्षाफौजले नियन्त्रणमा लिएको छ। अपरेसन सिन्दूरपछि दुवै देशको सीमा क्षेत्रमा कडाइ गरिएको बेला उनीहरूलाई अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेको अवस्थामा पक्राउ गरिएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार, पक्राउ परेका चारै जना चिनियाँ नागरिकहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा धाराप्रवाह बोल्न सक्छन्। उनीहरू हाल रक्सौलमै थुनामा राखेर बयान लिने प्रक्रिया चलिरहेको छ। तर उनीहरूले बारम्बार आफ्नो बयान बदलिरहेको जनाइएको छ, जसले उनीहरूको उद्देश्यप्रति थप शंका उत्पन्न गराएको छ।

भारतीय मिडिया आजतक ले सुरक्षास्रोतलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार, ती चिनियाँ नागरिकको पाकिस्तानसँग केही किसिमको सम्पर्क रहेको देखिएको छ। उनीहरूले हालै पाकिस्तानका एक युवासँग कुराकानी गरेको प्रमाण पनि फेला परेको दाबी गरिएको छ।

त्यसैगरी, उनीहरू गत हप्ता काठमाडौंमा रहेको प्रमाण पनि भारतीय सुरक्षा निकायले पत्ता लगाएको जनाएको छ।

भारत–पाकिस्तानबीच हाल चलिरहेको तीव्र सैन्य तनावको सन्दर्भमा यस्तो संवेदनशील समयमा चार जना चिनियाँ नागरिकको गतिविधि सीमाक्षेत्रमा देखिनु आफैंमा चासोको विषय बनेको छ। विशेषतः रक्सौल नाकामा हाल कडाइ गरिएको सुरक्षा जाँच र निगरानी व्यवस्था यसै कारण तीव्र पारिएको हो।

सुरक्षासम्बन्धी निकायहरू अहिले ती चारै व्यक्तिको पृष्ठभूमि, नेपालमा बसोबास अवधि, सम्पर्क व्यक्ति, यात्राको उद्देश्य र उनीहरूको डिजिटल उपकरणहरूबाट भेटिएका जानकारीहरूमाथि गहिरो अनुसन्धान गरिरहेका छन्।