“काठमाडौँ उपत्यकामा चोरी भएका २२ ओटा दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण”

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले १६ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन्।

प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू—मुलपानी, माकलबारी, सुकेधारा, गौरीघाट, काँडाघारी, नयाँबसपार्क, सोह्रखुट्टे, स्वयम्भु, चौमती, स्युचाटार, दरबारमार्ग, भैंसेपाटी, ठिमी लगायतका स्थानहरूबाट उक्त सवारी साधन फेला पारिएको हो। केही सवारी साधनका नम्बर प्लेटहरू वास्तविक थिए भने अन्यका नक्कली नम्बर प्लेट राखिएको अवस्थामा फेला परेको ट्राफिक प्रहरीले जनाएको छ।

आज बुझाइएका २२ ओटा सवारी साधनहरू समावेश गरेर ४ सय ३१ ओटा सवारी साधन गत साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। यसै सन्दर्भमा चोरीमा संलग्न ५८ जनालाई पनि विभिन्न प्रहरी परिसर तथा वृत्तमा पठाइ कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

आर्थिक वर्ष २०७९/०८० मा ४ सय ९९ ओटा, ०८०/०८१ मा ४ सय १७ ओटा र ०८१/०८२ को आजसम्ममा ४ सय ३१ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको हो।