भारत पाकिस्तान तनाव : रोकियो आईपीएल

२६ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजन पाकिस्तानसँग बढ्दो तनावका कारण स्थगित गरिएको छ। भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सुरक्षा अवस्था गम्भीर बन्दै गएको भन्दै सबै खेल अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो।

यो निर्णय बिहीबार धर्मशालामा भएको एक अप्रत्याशित घटनापछि आएको हो। पञ्जाब र दिल्लीबीचको खेल खेलिरहेका बेला सुरक्षा सतर्कताका कारण खेल बीचमै रोकिएको थियो। त्यसपछि खेलाडी, अफिसियल तथा कर्मचारीहरूलाई तुरुन्त मैदानबाट बाहिर निकालेर सुरक्षित स्थानमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बीसीसीआईले भनेको छ, “खेलाडी र दर्शकहरूको सुरक्षालाई ध्यानमा राख्दै हालको असहज परिस्थितिमा आईपीएल जारी राख्न सम्भव छैन। अर्को सूचना नआएसम्म खेल तालिका स्थगित गरिएको छ।”

भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा तनाव बढ्दै गएको छ। पाकिस्तानका रक्षामन्त्रीले पनि केही दिनअघि व्यावसायिक विमानहरूलाई भारतको आकाश प्रयोग नगर्न चेतावनी दिएका थिए। त्यसयता भारतले आफ्ना प्रमुख विमानस्थलहरूमा उच्च सुरक्षा सतर्कता अपनाएको छ।

आईपीएल कहिले पुनः सुरू हुन्छ भन्ने विषयमा हालसम्म कुनै निश्चित जानकारी सार्वजनिक गरिएको छैन। बीसीसीआईले सुरक्षास्थितिमा सुधार आएपछि मात्रै निर्णय लिने बताएको छ।h