नेविसंघद्वारा सीटीईभीटीको नयाँ भर्ना निर्देशिकाविरुद्ध प्रदर्शन, प्रतिरोधस्वरूप जलाइयो

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को नयाँ भर्ना निर्देशिका जलाएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा परिषद्कै सदस्य–सचिव महेश भट्टराईको उपस्थितिमा नेविसंघका प्रतिनिधिहरूले नयाँ निर्देशिका जलाउँदै कडा विरोध जनाएका हुन् ।

नेविसंघको आरोप छ कि नयाँ निर्देशिकाले प्रवेश परीक्षाको व्यवस्था हटाएर केवल GPA (शैक्षिक ग्रेडिङ) को आधारमा भर्ना गर्ने नीति लिएको छ, जुन शिक्षा प्रणालीमा मेरिट प्रणालीको समाप्ति हो । उनीहरूले योग्य विद्यार्थीहरू अवसरबाट बञ्चित हुने खतरा औंल्याएका छन् ।

“प्रवेश परीक्षा शिक्षाको गुणस्तर मापन गर्ने महत्त्वपूर्ण आधार हो । यसलाई हटाउनु भनेको शिक्षा प्रणालीमा राजनीतिक हस्तक्षेप गर्ने प्रयास हो,” एक नेविसंघ नेता भन्छन् ।

सीटीईभीटीले भने यो निर्देशिका सबै वर्ग र क्षेत्रका विद्यार्थीलाई पहुँच दिनको लागि बनाइएको हो भन्ने दाबी गरेको छ । परिषद्का अनुसार नयाँ नीति समावेशीता, पहुँच र अवसरको विस्तार गर्ने उद्देश्यले ल्याइएको हो ।

तर विद्यार्थी संगठनहरूको तीव्र विरोधका बीचमा यो निर्देशिका कार्यान्वयनमा ल्याउने प्रक्रिया सहज नहुने संकेत देखिएको छ । अहिले नै यसले थप विवाद र आन्दोलन निम्त्याउने सम्भावना बढेको छ ।