चितवन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले यस शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना प्रक्रियामा ठूलो परिवर्तन गरेको छ। अबदेखि एसईईमा प्राप्त जीपीए अंककै आधारमा विद्यार्थी भर्ना गरिने भएको हो।
परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार, अब सीटीइभीटीअन्तर्गत कुनै पनि विषयमा अध्ययन गर्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा दिन आवश्यक छैन। उनले भने, “अब विद्यार्थीले प्रवेश परीक्षा दिनु पर्दैन, जीपीएकै आधारमा भर्ना हुन्छ।”
यसअघि विभिन्न संस्थाहरूले भर्ना तयारी कक्षा सञ्चालन गरी पैसाको कारोबार गरेको भन्ने गुनासाहरू आएपछि सीटीइभीटीले यो कदम चालेको हो। मिश्रका अनुसार, प्रवेश परीक्षासँग जोडिएका नकारात्मक हल्ला र आर्थिक दुरुपयोग रोक्नका लागि जीपीए प्रणालीलाई नै आधिकारिक आधार बनाइएको हो।
सीटीइभीटीले प्रि–डिप्लोमा, डिप्लोमा र प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका २०८२ कार्यान्वयनमा ल्याएको छ। यसमा एसईईको जीपीएका आधारमा योग्यताको सूची बनाउने व्यवस्था गरिएको छ।
अङ्कभार सम्बन्धी व्यवस्था:
- सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई १ अंकको अतिरिक्त अङ्कभार।
- संस्थागत विद्यालय (निजी स्कुल)बाट उत्तीर्ण भएकालाई ०.८५ अंकको अङ्कभार।
यसैसँगै सीटीइभीटीले अनलाइनमार्फत आवेदन फारम भर्ने प्रणाली पनि लागू गरेको छ। आङ्गिक र सम्बन्धनप्राप्त निजी कलेजहरूले फारम भर्न सहयोग गर्नेछन्। निजी कलेजहरूले पहिले देखिनै ग्रेडका आधारमा भर्ना माग गर्दै आएका थिए।
हाल देशभर ६३ आङ्गिक र ४०० भन्दा बढी प्रतिष्ठान तथा निजी कलेजहरू सञ्चालनमा छन्, जहाँ प्रत्येक वर्ष २५,००० भन्दा बढी विद्यार्थी भर्ना हुने गर्दछ।
Leave a Reply