दाङ, वैशाख २३ ।
दाङको घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापा वैदेशिक रोजगारीबाट फर्किएर गाईपालन व्यवसायमा लागेपछि मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
मलेसिया र दुबईमा झण्डै ११ वर्ष बिताएका थापाले स्वदेश फर्किएपछि गाईपालन सुरु गरेका थिए। उनी दैनिक बिहान ४ बजे उठेर आफ्ना गाईहरू दुहुनुका साथै गाउँका अन्य किसानको दूध पनि संकलन गरेर घोराही बजारस्थित डेरीमा पुर्याउने गर्छन्। घर फर्किएपछि उनी गाईहरूको स्याहारमा व्यस्त हुने गर्छन्।
थापाका अनुसार, हाल उनीसँग १७ वटा गाई छन्, जसमा सातवटा दुहुना छन्। उनी दैनिक ८० लिटर दूध उत्पादन गर्छन्। सुरुमा दुईवटा गाईबाट व्यवसाय सुरु गरेका थापाले मेहनतका साथ पाँच वर्षमै गाईपालनमा सफलता हात पारेका हुन्।
उनले भने, “विदेशमा १८ घण्टा काम गर्दा पनि सन्तुष्टि थिएन, तर यहाँ आठ घण्टा काम गर्दा पनि आत्मसन्तुष्टि छ।” थापाका अनुसार उनले गाईपालनबाट मासिक एक लाखभन्दा बढी आम्दानी गर्दै आएका छन्।
विदेशबाट फर्किएपछि उनले घोराहीमा घडेरी किनेर घर निर्माण गरे, ट्रक खरिद गरेर व्यवसायको प्रयास गरे र बाख्रापालन पनि सुरु गरे। तर ती सबै पेसामा सफलता नपाएपछि गाईपालनमै केन्द्रित भएका थापा अहिले जिल्लाकै उदाहरणीय किसान बनेका छन्।
उनले थपे, “पाँच वर्षमै गाईपालनबाट करिब ५० लाख रुपैयाँ आम्दानी गरेको छु। मेहनत गरे आफ्नै देशमै अवसर रहेछ।”
थापाको सफलताले वैदेशिक रोजगारीका विकल्पस्वरूप कृषि र पशुपालन क्षेत्रको सम्भावनालाई पुष्टि गरेको छ।
– Mews Khabar
Leave a Reply