बाँकेको कोहलपुरमा ९ वर्षीय कुशल बुढाको हत्या घटनामा नयाँ मोड आएको छ। यसअघि पक्राउ परेका आमाः यशोदा बुढा र सौतेला बाबुः निरकनाथ योगीमाथिको अनुसन्धानबाट घटना अर्कै योजनाकारले गराएको पुष्टि भएको हो।
वैशाख ८ गतेदेखि बेपत्ता रहेका कुशलको शव वैशाख १५ गते एक स्थानीय गोठालाले फेला पारेका थिए। प्रारम्भिक अनुसन्धानमा आमा र सौतेला बुबामाथि शंका गरिएको थियो। तर पछिल्लो अनुसन्धानले घटनाको प्रमुख योजनाकार अर्कै युवक रहेको देखाएको छ, जसको नाम हाल गोप्य राखिएको छ।
प्रहरीका अनुसार यशोदा र ती युवकबीच प्रेम सम्बन्ध थियो। तर पछिल्लो समय यशोदाले उनलाई बेवास्ता गर्न थालेपछि ती युवक रिसाएका थिए। उनी सुरुमा यशोदाको हत्या गर्ने योजनामा थिए। तर तत्काल त्यो सम्भव नदेखिएपछि निर्दोष बालक कुशललाई टार्गेट बनाएका थिए।
डिएसपी दीपक पातलीका अनुसार यदि कुशलको शव तत्काल फेला नपरेको भए र प्रहरी सक्रिय नभएको भए यशोदाको ज्यानसमेत जोखिममा पर्न सक्थ्यो। कुशलको हजुरबुबा–हजुरआमाको आशंकाका आधारमा जाहेरी दर्ता भएपछि आमा र सौतेला बुबालाई तत्कालै नियन्त्रणमा लिइएको थियो।
डिएसपी लक्ष्मी खनालका अनुसार मुख्य योजनाकार युवकले कुशलसँग चित्त बुझ्दो चिनजान राखेका थिए। उनले बालकलाई चकलेट किनिदिने र साइकल खेलाउने बहानामा घरबाट टाढा लगेका थिए। CCTV बाट जोगिन उनले भित्री बाटो प्रयोग गरेको खुलेको छ। तीन घण्टा लगाएर बालकलाई नौलापुर पुर्याएर हत्या गरिएको प्रहरीले जनाएको छ।
कुशलको टाउकोमा लाठी प्रहार गरी, त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको खुलेको छ। हत्या पछि शव कुलोमा परालले छोपेर फरार भएका थिए।
प्रहरीले हालसम्म हत्यामा संलग्न र सहयोगी भूमिका निभाएका ६–७ जनालाई नियन्त्रणमा लिइसकेको छ। तर प्रमुख योजनाकार अझै फरार छन्। प्रहरीको भनाइमा कपाल काट्ने पसलमा नै हत्या योजना बनेको थियो।
सौतेला बाबु निरकनाथ योगीको संलग्नता कतै नदेखिए पनि, किटानी जाहेरीका कारण हालैसम्म हिरासतमा राखिएको छ। यशोदाको भूमिकालाई भने प्रहरीले शंकास्पद भनेको छ।
प्रहरीको निष्कर्षअनुसार, परपुरुषसँगको सम्बन्धमा आएको खटपट र बदलाको भावनाले निर्दोष बालक कुशलको ज्यान गएको हो। अनुसन्धान जारी छ र मुख्य योजनाकार पक्राउपछि थप विवरण बाहिर आउने प्रहरीको भनाइ छ।
Leave a Reply