काठमाडौँ । पानी पर्न थालेसँगै देशभर डेङ्गु सङ्क्रमणको जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य मन्त्रालयले सतर्क रहन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार पानी जम्ने ठाउँमा डेङ्गु सार्ने लामखुट्टेको वृद्धि हुने भएकाले तत्काल सतर्कता आवश्यक छ।
उनले भने, “पानी जम्दा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिका लामखुट्टेले फुल पार्ने र त्यही लार्भा वयस्क भएर मानिसलाई टोकी संक्रमण फैलाउने गर्दछ। फुलबाट वयस्क बन्न झन्डै १५ देखि २० दिन लाग्ने भएकाले अबको दुई हप्ता उच्च जोखिमको समय हो।”
गत वर्ष ३५ स्थानीय तहमा धेरै संक्रमण देखिएको स्मरण गर्दै डा. दाहालले ती स्थानमा रोकथामका लागि पत्राचार गरिसकिएको बताए।
मन्त्रालयको तथ्यांकअनुसार, पुस १७ यता हालसम्म ९६८ जनामा डेङ्गु पुष्टि भइसकेको छ। सन् २०२४ मा मात्र देशभर ७६ जिल्लामा संक्रमण फैलिएको थियो, जसमा ४१ हजार ८६५ सङ्क्रमित भएका थिए भने १५ जनाले ज्यान गुमाएका थिए।
स्वास्थ्यकर्मीहरूले घर आँगन, फूलदानी, कूलर, प्लास्टिकका भाँडामा जमेको पानी सफा राख्न, पुराना टायर वा खाली भाँडो हटाउन र व्यक्तिगत सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।
Leave a Reply