– धनुषाको मिथिला विहारी नगरपालिका–८, ठेरा कचुरीमा बिहे भोज खाँदा सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। बिहीबार राति भएको विवाह समारोहमा खाजामा विषाक्तता भएको आशंकासहित खाद्य सामग्रीको स्याम्पल परीक्षणका लागि संकलन गरिएको छ।
जनकपुर उपमहानगरपालिका–२३, बिन्धीबाट ठेरा कचुरी पुगेका जन्ती र स्थानीय पाहुनाहरू नरेश महराको छोरीको विवाह समारोहमा सहभागी भएका थिए। स्वयम्बरपछि खाजामा बुनियाँ, रसबरीलगायतका परिकार खाएलगत्तै उनीहरूमा पेट दुख्ने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखा परेको थियो।
धनुषा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उमेश यादवका अनुसार, “खाजामै प्वाइजन भएर बिरामी परेको हाम्रो अनुमान छ। घटनास्थल पुगेर खाजाको स्याम्पल संकलन गरिएको छ। परीक्षणपछि वास्तविक कारण पुष्टि हुनेछ।”
उनका अनुसार ४५ जनाभन्दा बढी बिरामीहरू प्रादेशिक अस्पतालमा भर्ना गरिएका छन् भने अन्यलाई नजिकका क्लिनिक तथा निजी अस्पतालहरूमा उपचार गरिएको छ। केही बिरामीहरू भने उपचारपछि घर फर्किसकेका छन्।
स्वास्थ्य अधिकारीहरूले सावधानीका लागि भोजमा प्रयोग गरिएका सबै सामग्री परीक्षण गर्नुपर्ने र यस्तो घटनाले खाद्य सुरक्षाको गम्भीर सवाल उठाएको जनाएका छन्।
Leave a Reply