दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गरेको पुष्टि, ७ अर्ब २५ करोड बक्यौता

काठमाडौँ – चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा दुरुपयोग गरी ‘राउण्ड ट्रिपिङ्ग’ कारोबार गरेको खुलासा भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानमा प्रसाईंले तीनवटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल तरिकाले कारोबार गराएको भेटिएको हो।

अनुसन्धान अनुसार पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र यूए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा लिएको कर्जा निर्धारित प्रयोजनमा प्रयोग नगरी अन्य कम्पनीको ऋण चुक्ता गर्न प्रयोग गरिएको हो। यसरी ऋण लिइ व्यापारिक प्रयोजनभन्दा बाहिर लगानी गर्नु राष्ट्र बैंकको नियमको उल्लंघन मानिन्छ।

सीआईबीका एआईजी चन्द्र कुवेर खापुङका अनुसार, “बैंकिङ कसुर सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ।” खापुङले बताए अनुसार प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकबाट क्रमशः १० करोड, ५ करोड र १२ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए।

प्रसाईंसँग अनुसन्धान अधिकृत र सरकारी वकिलको टोलीले बयान लिइसकेको छ जहाँ उनले नै ‘राउण्ड ट्रिपिङ्ग’ गरेको स्वीकार गरेका छन्। उनले भनेका छन्, “एउटा बैंकबाट लिएको रकम अर्कोको कर्जा चुक्ता गर्न र पार्टीलाई भुक्तानी गर्न प्रयोग गरेको हुँ, त्यसमा लुकाउनुपर्ने केही छैन।”

तर राष्ट्र बैंक ऐन अनुसार कर्जा लिएको व्यवसायमै लगानी गर्नुपर्छ र सोही व्यवसायबाट आर्जन गरी कर्जा फिर्ता गर्नुपर्ने व्यवस्था छ। अनुसन्धानमा प्रसाईं र उनका आफन्तका ३१ वटा कम्पनीको नाममा हालसम्म पाँच वटा बैंकमा ७ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको बक्यौता रहेको देखिएको छ। ती कम्पनीहरूका अन्तिम हिताधिकारी स्वयं दुर्गा प्रसाईं नै रहेको पुष्टि गरिएको छ।

प्रसाईं चार वर्षदेखि झापास्थित बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा प्रवाह भएको कर्जाको ब्याजसमेत नियमित तिर्न सकेका छैनन्।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार प्रसाईंमाथि दफा ८ अन्तर्गत मुद्दा तयारी अवस्थामा पुगेको छ। उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि उनी हाल काठमाडौँ प्रहरी हिरासतमा रहेका छन्। राज्यविरुद्धको अपराध, ज्यान मार्ने उद्योगलगायतका अभियोगमा समेत उनीमाथि अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार जेठको दोस्रो सातासम्ममा सम्पूर्ण अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको छ।