: शिक्षक आन्दोलनले परेको पठनपाठनको क्षति हिउँदे वा वर्षे बिदाबाट पूर्ति गर्ने आग्रह

शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह

काठमाडौं । हालै २९ दिनसम्म चलेको शिक्षक आन्दोलनबाट पठनपाठनमा परेको क्षतिलाई हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्नुपर्ने नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

महासङ्घले आन्दोलनका कारण विद्यार्थीको सिकाइ प्रभावित भएकाले अब बिदाको समयमा अतिरिक्त कक्षा वा पठनपाठनमार्फत क्षति पूर्ति गर्न प्रधानाध्यापक तथा शिक्षक-कर्मचारीहरूलाई अनुरोध गरेको छ ।

‘विद्यार्थी वर्गमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा सो क्षतिको आपूरण गर्नुहुन सबै प्रधानाध्यापक तथा शिक्षक -कर्मचारी साथीहरूमा अनुरोध छ,’ महासङ्घले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

महासङ्घले आन्दोलनबाट विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्रीपरिषद् निर्णयमार्फत कार्यान्वयनमा आएको र आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित हुने निश्चित भएकाले आन्दोलनलाई सफल र उपलब्धिमूलक भनेको छ ।